काठमाडौँ।
तीनकुनेमा भएको अवाञ्छित गतिविधिसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट चार जना सरकारी वकिलहरूले प्रतिवादी पक्षको बहसमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै छन्। उनीहरूमा सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले पनि छन्।

यसअघि, प्रसाईंका पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, डा. भीमार्जुन आचार्य, टंक दुलाल, लवकुमार मैनालीलगायतका अनुभवी कानुन व्यवसायीहरूले बहस गरेका थिए।
थुनछेक बहसपछि अब काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रतिवादीहरूलाई थुनामै राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश दिनेछ। यो मुद्दामा राज्यविरुद्ध र ज्यानसम्बन्धी गम्भीर आरोपहरू लगाइएको छ। कूल ५० जना प्रतिवादीमध्ये ३९ जना हाल थुनामा रहेका छन्। अबको केही दिनभित्र आउने आदेशले यो घटनाको आगामी कानुनी दिशालाई स्पष्ट पार्नेछ।




