© २०२३
सुर्खेत,२९ जेठ ।
जुम्लाको तिला गाउँपालिकाको स्कारपियो गाडीमा तोडफोड भएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा उक्त गाडी राखिएकै राखिएको अवस्थामा तोडफोड भएको हो । उक्त गाडी तोडफोड गर्नेको भने पहिचान भएको छैन । गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी तोडफोड भएको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले जानकारी दिइन् ।
‘गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य चढेर वडा नं ४ मा बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सहभागी हुन जानुभएको थियो’ हितानले भनिन्, ‘कार्यक्रम सकेर फर्किने क्रममा गाडीको पछाडि भागको सिसा तोडफोड भएको छ ।’
गाउँपालिकाले स्कार्पियो गाडी भर्खर खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा पु¥याएको र वडा पालिकाको हातामा नै गाडी तोडफोड भएको उनले बताइन् । ‘यस अघि उत्त वडामा योजनाको अनुगमनमा जाँदा वडा अध्यक्षमाथि चक्कु प्रहार भएको थियो’ उनले भनिन्, ‘यस पटक गाडीमा तोडफोड भयो ।’
गाडी तोडफोड गरेको खोजी कार्य जारी भएको र प्रहरीलाई खबर गरिएको उनले बताइन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले सरकारी सवारी साधन तोडफोड गर्नेको खोजी कार्य जारी रहेको जनाएको छ ।