© २०२३
अर्घाखाँची, २९ जेठ ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भूमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा परम्परागत धार्मिक मेला सम्पन्न भएको छ । प्राचीनकादेखि नै धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्र रहँदै आएको यस मन्दिरमा प्रत्येक वर्ष जेठे अर्थात् स्थानीय रूपमा प्रचलित भूमे पूर्णिमाका दिन विशेष मेला आयोजना हुँदै आएको हो ।
भूमे देवताको सम्मानमा स्थापना गरिएको भूमे मन्दिरकै नामबाट भूमिकास्थान नगरपालिकाको नामकरण गरिएको हो। यस अवसरमा पालिकाले स्थानीय विदा समेत दिने परम्परा स्थायी रूपमा कायम राखेको छ । मेला अवलोकनका लागि भूमिकास्थान नगरपालिका भित्रका बासिन्दा मात्र नभई अर्घाखाँचीका अन्य पालिकाहरूका साथै छिमेकी जिल्लाहरू प्युठान, गुल्मी, पाल्पा आदि क्षेत्रहरूबाट समेत हजारौँ श्रद्धालु तथा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मन्दिर परिसरमा पूजाआजा, स्थानीय सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्यलगायतका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। साथै स्थानीय उत्पादनले मेलाको आकर्षण थपेको थियो ।
स्थानीय वासीहरूका अनुसार, भूमे देवताको पूजा गर्दा वर्षभरि राम्रो बाली, सुख–समृद्धि र रोग–व्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहँदै आएको छ।भूमे मन्दिरमा आयोजना गरिने मेला केवल धार्मिक गतिविधिमा सीमित नरही त्यस क्षेत्रकै पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र समुदायबिचको एकताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।मेलाको व्यवस्थापनमा भूमिकास्थान नगरपालिका, भूमे मन्दिर व्यवस्थापन समिति, स्थानीय टोल सुधार समिति, युवा क्लबहरू, सुरक्षा निकाय र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका देखिएको थियो ।