Butwal Today

सुनचाँदीमा कर बढाउने निर्णयविरुद्ध देशभर पसल बन्द, व्यवसायीहरू आन्दोलनमा

२९ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरालगायतका गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभर सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल हस्तकला महासङ्घसहित देशभरका स्थानीय सङ्घ–सङ्गठनहरूले एकैसाथ पसल बन्द गरेर विरोध जनाएका हुन्।

महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सरकारले थोपरेको करका कारण पुरै सुनचाँदी व्यवसाय संकटमा पर्ने खतरा देखिएको छ। उनले भने, “सरकारको यो निर्णयले व्यवसाय धरासायी हुन्छ, त्यसैले कर खारेजको मागसहित आन्दोलनमा उत्रिएका छौँ।”

व्यवसायीहरूले सुनको भन्सार शुल्क ६ प्रतिशतमै कायम गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, सुनचाँदी कारोबारलाई स्पष्ट दिशा दिने नीति तथा नियमावली निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ।

व्यवसायीहरूको यो आन्दोलनले बजारमा सुनचाँदीको आपूर्ति प्रभावित भएको छ भने उपभोक्ता पनि अन्योलमा परेका छन्। आन्दोलन चाँडै समाधान नभए अझ व्यापक असर पर्न सक्ने अनुमान गरिएको छ।