© २०२३
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र नेपालभर मनसुन सक्रिय हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार यो वर्ष औसत मितिभन्दा करिब १५ दिनअघि नै पूर्वी नेपालमा मनसुन प्रवेश भइसकेको छ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार हाल कोशी प्रदेश आसपास मनसुन सक्रिय अवस्थामा रहेको र क्रमशः बाँकी भूभागतर्फ सर्ने प्रक्रियामा रहेको बताइन्।
“हाल मनसुनी वायु कोशी प्रदेशसम्म मात्र छ तर सबै प्रदेशमा हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ,” उनले भनिन्, “अब एक हप्ताभित्र देशभर मनसुन सक्रिय हुने देखिन्छ।”
कँडेलका अनुसार हाल देखिएको वर्षा गतिविधि बुधबारदेखि नै सुरु भएको हो र अब विस्तारै देशव्यापी रूपमा तीव्र हुँदै जानेछ। यस वर्ष वर्षासँगै अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना रहेको उनले उल्लेख गरिन्।
मनसुनको समयअघि नै सक्रियता देखिनुले केही दिन सबै प्रदेशमा निरन्तर हल्का देखि भारी वर्षाको सम्भावना रहेको छ। विभागले सावधानी अपनाउन समेत आग्रह गरेको छ।