© २०२३
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीको विधानमा रहेको केन्द्रीय समिति विस्तारसम्बन्धी सीमालाई निष्क्रिय बनाउने निर्णय गरेको छ।
जेठ १२ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिमा अधिकतम १० प्रतिशत सदस्य मात्रै थप्न सकिने विधानको व्यवस्था तत्कालका लागि लागू नगर्ने निर्णय गरेको हो।
महासचिव देव गुरूङद्वारा जारी गरिएको परिपत्रमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता रहेको भन्दै सो प्रावधानलाई आगामी केन्द्रीय समिति बैठक तथा महाधिवेशनप्रति जवाफदेही हुने गरी निष्क्रिय बनाइएको उल्लेख छ।
हाल माओवादी केन्द्रमा ४०८ जना केन्द्रीय सदस्य छन्। विधान अनुसार ४० जनाभन्दा बढी थप्न नपाइने स्थिति थियो। तर, नयाँ निर्णयपछि केन्द्रीय समिति सदस्यहरू जति पनि मनोनयन गर्न सकिने सम्भावना खुलेको माओवादीका एक नेताले बताएका छन्।
यस निर्णयले पार्टीभित्र आगामी पुनःसंरचना, समायोजन र सम्भावित नयाँ प्रवेशहरूलाई सहज बनाउने देखिएको छ।