© २०२३
काठमाडौँ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक आज वा भोलिसम्म सुरु हुन सक्ने बताएका छन्।
बुधवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले प्रतिनिधिसभा अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षबीच गम्भीर छलफल भइरहेको जानकारी दिए।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा अख्तियारले एक कर्मचारीमाथि छानबिन थालेपछि उत्पन्न विवादमा मन्त्री गुरुङले गृहमन्त्रीको राजीनाको विषय नउठ्ने स्पष्ट पारे।
उनले भने, “एउटा कर्मचारीमाथि छानबिन हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न सक्दैन।”
गुरुङले संसद् सञ्चालनमा ल्याउन सत्तारूढ गठबन्धन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिपक्षलाई पनि सहयोग गर्न आग्रह गरे। साथै उनले सानातिना विषय उठाएर राजनीतिक प्रक्रिया अवरुद्ध गर्नु अनुचित रहेको भन्दै संसद् सञ्चालन गरेर बजेटसम्बन्धी छलफल अघि बढाउनु पर्ने बताए।