काठमाडौं ।
प्रतिनिधिसभामा जेठ १३ गतेदेखि जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा आज बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमति विना सकिएको छ।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए। तर, पक्ष–विपक्ष आ–आफ्नै अडानमा अडिग रहेकाले सहमति हुन नसकेको हो।
प्रतिपक्षीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति गठन वा न्यायिक आयोगमार्फत छानबिनको माग गरिरहेका छन्।
सत्तापक्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले त्यसैसँग मिल्दोजुल्दो समानान्तर समिति बनाउनु उपयुक्त नहुने तर्क गर्दै आएको छ।
छलफल विफल भएपछि एक बजेका लागि बोलाइएको अर्को बैठक पनि हालसम्म सुरु हुन सकेको छैन। संसद् सञ्चालन अझै अन्योलमा रहेको देखिएको छ।




