© २०२३
काठमाडौँ ।
रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन्। घाइतेहरूमा बालबालिकासमेत रहेका छन्।
खार्किभका मेयर इगोर तेरेखोभका अनुसार रातभरमा दुई फरक क्षेत्रमा १७ पटक आक्रमण भएको थियो। तीव्र विस्फोटका कारण भवनहरू क्षतिग्रस्त भएका छन् भने सडकमा सवारीसाधन जलेका दृश्य देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
खार्किभ, जुन रुसको सिमानाबाट करिब ३० किलोमिटर दूरीमा छ, युद्ध सुरु भएयता बारम्बार निशानामा परेको छ। हालै रुसले आक्रमणको तीव्रता बढाएको छ भने युक्रेनमाथि कडा शर्तसहित शान्ति प्रस्ताव अघि सारेको छ।
तर युक्रेनले ती सर्तहरू अस्वीकार गर्दै आएको छ। रुसले युक्रेनले आफ्नो भूभाग त्याग्नुपर्ने र सैन्य गठबन्धनहरूमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनुपर्ने माग राखेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा प्रतिबन्ध लगाउन अपिल गरेका छन्। यसैबीच युक्रेनले मानवरहित हवाई सवारीमार्फत रूसी क्षेत्रमा प्रतिआक्रमण गरेको जनाएको छ।
दुबै पक्षबीच कैद सैनिकहरू साटासाट गरिएको छ भने मृतक सैनिकका शवहरू पनि फिर्ता गरिएको जानकारी आएको छ। युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि शान्ति वार्ता निष्क्रिय रहँदै गएको छ।