© २०२३
दाङ, २८ जेठ ।
घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पु¥याइएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । उक्त आयोजना सम्पन्न भएपछि नगर प्रमुख नरुलाल चौधरीले बुधबार (आज)उद्घाटन गरे ।
नगर प्रमुख चौधरीले बलामपुरका स्थानीयलाई पानीको समस्या नहुने बताए । सधैं पानीको चिन्तामा रहेका स्थानीयलाई पानीको सदुपयोग गर्न आग्रह गरे । सरकारले घरघरमा धारा पुराएपछि अब त्यसको संरक्षण जनताको जिम्मामा रहने उनको भनाइ छ । पानी नै स्वस्थ जीवनको आधार भएको चर्चा गर्दै उनले जनताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार र जवाफदेही रहेको बताए । स्थानीयले आफूले उपभोग गर्ने पानीको सदुपयोग गर्नु पहिलो दायीत्व भएको बताए ।
बलामपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीले यस अघि कुवा र जरुवाबाट पानी खादै आएको अब घरघरमा पानीको धारा आएपछि समयको बचत भएको बताए । सफा र शुद्ध खानेपानी घरघरमा आएपछि स्थानीय निकै खुशी भएको उनको भनाइ छ ।
बलामपुरका सबै नागरिकले घरमा धारा जोडेर पानीको उपयोग गर्न थालेका छन् । डिपबोरिङ मार्फत पानी निकालेर ट्यांकीमा जम्मा गरि ९० घरमा खानेपानी पु¥याईएको छ । प्रदेश सरकारले ससर्त अनुदानमा उपलब्ध गराएको ३० लाख रुपैयाँ मध्ये २७ लाख ४८ हजार रुपैयाँ खर्च भएको शहरी विकास पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिए ।