Butwal Today

अनेरास्ववियु महाधिवेशनमा नेतृत्व चयनलाई लिएर बन्दसत्रमा नाराबाजी

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र विवादका कारण स्थगित भएको छ। अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले नेतृत्व चयनका लागि प्रस्ताव गर्दा केही प्रतिनिधिहरूले असहमति जनाउँदै नाराबाजी गरेपछि बन्दसत्र अगाडि बढ्न सकेन।

ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम सर्वसम्मत रूपमा पारित गराउने प्रयास गरेका थिए। तर, प्रस्ताव सार्वजनिक भएपछि असन्तुष्ट पक्षले “सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो” भन्दै नाराबाजी सुरु गरेका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमार्फत नयाँ नेतृत्व सर्वसम्मत ढंगले चयन गर्न निर्देशन दिएका थिए। सोही आधारमा नेतृत्वका लागि नाम प्रस्तुत गरिए पनि अध्यक्षका दाबेदार प्रकाश पौडेल र महासचिव पदका आकांक्षी दीपक धामी स्वयंले चुनावको माग गरेपछि विवाद चुलिएको हो।

विवादपछि बन्दसत्र तत्कालका लागि स्थगित गरिएको छ र अहिले सहमतिको प्रयास जारी छ। नेतृत्व चयन प्रक्रियामा देखिएको असहमति अनेरास्ववियुमा आन्तरिक लोकतन्त्रको माग र नेतृत्व चयनको शैलीप्रति उठेका प्रश्नहरूसँग जोडिएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?