नेपाली किसान राज्यबाट जहिले पनि अपहेलित हुँदै आएका छन् । जुन कुनै सरकार आए पनि किसानको आवाज मन्द गतिमा मात्रै सुनुवाइ हुने गरेको छ । अबको केही दिनपछि रोपाई सुरु हुँदै छ । रोपाई सुरु हुँदै गर्दा किसानका लागि आवश्यक रासायनिक मल भने अझै पनि अभाव छ । त्यसो त आज राष्ट्रिय कृषक दिवस हो । वि.सं. २०७० सालदेखि कृषक सेवा समितिले हरेक वर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउँदै आएको छ । कृषक दिवस मनाउँदै गर्दा किसानहरू अपहेलित भएर बाँच्न विवश छन् । विगतका सरकारले किसानलाई पेन्सन दिनेसम्मको योजना बनायो । सरकार गयो, किसानका पेन्सन योजना पनि उडे ।
सरकार र मन्त्रीपिच्छे किसानका लागि सपना देखाउने गरिन्छ । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिब र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन । नेपालका करिब ८० प्रतिशत जनसङ्ख्या अहिले पनि कृषिमै निर्भर छन् । तर, राज्यबाट हुनुपर्ने सम्बोधन हुन सकेको छैन । किसानले सरकारी बैङ्कबाट सस्तोमा ऋण पाउन जुत्ताको तलुवा फटालेपनि सम्भव छैन । सहुलियत ऋणमा पहिले नै सेटिङ हुन्छ । अवस्था यस्तो छ । तर पनि हामी कृषक दिवस मनाउन पाउँदा खुसी नै छौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक नारा लिएर आउँछ तर त्यसले वास्तविक कृषकको माग सम्बोधन गर्नै सकेको छैन । प्रदेश सरकारले किसानका लागि भन्दै मल कारखाना खोल्ने योजना बनाएको दशक पुग्न लाग्यो तर मल कारखाना प्रदेश सरकारको नीति तथा कार्यक्रममा मात्रै सीमित छ ।
आज हाम्रो देशबाट झन्डै ५०–६० लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । देशमा भएका कैयौँ उद्योगधन्दाहरू बन्द अवस्थामा छन् भने कैयौँ उद्योगधन्दा दिन–प्रतिदिन घाटामा चलिरहेका छन् । युवालाई कृषिमा जोड्ने हो भने देशका युवा बाहिर जाने थिएनन् । कृषिमै सम्भावना देख्न सकिन्थ्यो । विडम्बना सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, दिन नसकेको अवस्था छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिमा जानुपर्ने बाध्यता युवाका लागि रहर होइन । नेपालका असङ्ख्य कृषि उत्पादन नियार्त गर्ने सम्भावना छ तर ती सम्भावनाका विषयमा सरकार कहिल्यै सकारात्मक भएन । न त त्यो सोच्ने फुर्सद सरकारलाई कहिल्यै भयो । आफ्नै मुलुकमा कुखुरा पालन, गाईभैंसीपालन, बङ्गुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठुलो फड्को मारिसकेको छ । यसले व्यावसायिक रूप लिइसकेको छ ।
तर, युवाहरूलाई व्यावसायिक कृषिमा जोड्ने कुरामा हामी चुकिरहेका छौँ । व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ । यस अवस्थामा कृषि पेसामा हामीले फड्को मार्नुपर्ने भएको छ । कैयौँ जग्गा बाँझो राखेर हामी किन विदेशीको भूमिमा पसिना बगाउन जाने ? सरकारले त्यसमा प्रोत्साहनको नीति ल्याउनुपर्ने खाँचो छ । किसान अझै पनि कति दबिएर बस्ने ? अब किसानका लागि सहुलियतमा ऋणको व्यवस्था गर । होइन भने नेपाल अझै कतिन्जेल परनिर्भर बन्ने ? नेपाली युवाहरू कामको खोजीमा मुगलान पस्दा पस्दा वाक्क भैसकेका छन् । अवसर पाए नेपालमै केही गर्ने योजनामा छन् तर युवाका लागि बोलिदिने कोही छैन । त्यसैले नेपाली युवालाई स्वदेशमै रोक्ने हो भने सरकार युवाका लागि कृषि क्षेत्रमा चमत्कारिक योजना ल्याऊ । अनि मात्र कृषक दिवस मनाउनुको सार्थकता हुनेछ ।