© २०२३
पाल्पा, २७ जेठ ।
जिल्लाको रिमीघा डाँडामा स्थानीयले फेला पारेको बस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँले बहुगुणी बहुमूल्य जडीबुटी यार्चागुम्बा भएको पुष्टि गरेपछि थप पुष्टिका लागि वनस्पति विभागमा पठाउने तयारी भएको छ ।
केही दिन अगाडि स्थानीयले रम्भा गाउँपालिकाको फोक्सीड्डकोट र पिपडाडा क्षेत्रमा पर्ने रिमीघा लेकमा भेटिएको बस्तुलाई प्रमाणित गर्नका लागि डिभिजन वन कार्यालयले विधि विज्ञान प्रयोगशालामा पठाएकोमा यार्चागुम्बा भएको पुष्टि आइतबार भएको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले भने “यसलाई थप पुष्टि गर्नका लागि वन तथा वातावरण मन्त्रालयको मातहतको वनस्पति विभागमा पठाउने तयारी गरिएको छ । यस क्षेत्रमा प्रवेश गर्न सर्वसाधारणलाई रोक लगाइएको छ ।” प्रहरीको उच्च सुरक्षा रहेको यस क्षेत्रमा बहुमूल्य जडीबुटी भेटिनु जिल्लाका लागि गौरवको कुरा भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए ।
यसलाई थप प्रमाणित र पुष्टिका लागि खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयमा समेत पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले बताए । यार्चा हो वा होइन भन्ने थियो पहिले अब खान हुने वा नहुने गुणस्तरका लागि खाद्य तथा गुणस्तरका विषयमा पत्ता लगाउन खाद्य गुण तथा प्रविधि कार्यालयमा मंगलबार पठाउने तयारी गरिएको उनले बताए ।
आमसर्बसाधारणको बुझाई यार्चा भन्ना साथ बहुमूल्य जडीबुटी हो भन्ने मात्र बुझाइरहेको छ । खास गरी यो ५ हजार प्रजातिको भेटिएको छ । त्यस मध्ये ११ प्रजातिका मात्र खान हुने योग्य भएको पुष्टि भएको छ ।
यदि खानको लागि योग्य भन्ने प्रमाणित भएको खण्डमा यस विषयमा विज्ञता हासिल भएका व्यक्तिले अध्ययन गर्दछन् । त्यसपछि पञ्च वर्षीय योजना बन्नेछ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयले राजश्व लिएर सङ्कलन गर्न पाउने हो । खानका लागि योग्य भन्ने ठहर भएमा प्रदेश सरकारले यार्चागुम्बालाई आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न डिभिजन वन कार्यालयका प्रमुख भट्टराईले बताए । रिमीघा लेकको उचाइमा रहेको माथागढी गाउँपालिकाको कौडेलेक, रिब्दीकोटको जलेश्वरमा पनि सम्भावना रहेको छ । मध्य पहाडी खण्डमा यस पटक इलाममा पनि एक पटक मात्र भेटिएको थियो । त्यस्तो यहाँ पनि नहोला भनेर भन्न नसकिने वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाड्डले बताए ।