Butwal Today

तुलसीपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

दाङ, २७ जेठ । 

दाङको तुलसीपुर उपमहानगरपालिकालाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका  अध्यक्ष एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख  नित्यानन्द शर्माले घोषणा गरेका हुन् ।  शर्माले बालबालिकाहरूलाई नियमित रुपमा खोप दिएर देशका लागि स्वास्थ्य जनशक्ति तयार हुने बताए ।  उनले पूर्ण खोप सुनिश्चितताका लागि महिला स्वयम सेविका र स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले स्वास्थ्यसँग जोडिएको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइने बताए  । उनले स्वस्थ जनशक्ति तयार गर्नका लागि समयमा खोप लगाउन अनिवार्य भएको बताए । सबैको सकारात्मक सहयोगले पूर्ण खोप घोषणा गर्न सफल भएको बताए ।   स्वास्थ्य कार्यालय दाङका प्रमुख  किशोरकुमार आचार्यले १३ वटा प्राणघातक रोगबाट बचाउनका लागि बालबालिकाहरूलाई खोप अनिवार्य रहेको बताए । उनले १५ महिना मुनिका सबै बालबालिकाहरूलाई खोप दिनुपर्ने आवश्यक रहेको बताए ।

खोप लगाउन पाउनु बालबालिकाको मौलिक हक हो,त्यसैले सबै बालबालिकाले समयमा खोप पाउनुपर्छ, आचार्यले भने ।  तुलसीपुर उपमहानगरपालिकाले ६ वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला  स्वयम सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि टोलीले पालिकाका सबै वडाहरूमा पुगेर बालबालिकाले खोप लगाए वा नलगाएको खोजी गरेको थिए ।

जसमा खोप नलगाएका बालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ७ जना बालबालिका भेटिएपछि पुन छुटेका खोप लगाइएको पालिकाका जनस्वास्थ्य प्रवर्धनका शाखाका फोकलपर्सन विमल केसीले जानकारी दिए । सात जनालाई खोप दिएपछि  पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाभित्र नौ  हजार ८ सय  जना बालबलिकाहरुले खोप लगाएका थिए । पालिकाभित्र ६५ वटा खोप केन्द्र रहेका छन् । खोप केन्द्रमा प्रत्येक महिना खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।