© २०२३
कपिलवस्तु, २७ जेठ ।
कपिलवस्तु नगरपालिकाले स्थानीय विपद् तथा जलवायु परिवर्तन कार्य ढाँचा निर्माणको कार्य अगाडि बढाएको छ । आईएम स्विडिस डेभ्लपमेन्ट पार्टनरको सहयोगमा दलित सामाजिक विकास केन्द्र (डिएसडिसी) द्वारा सञ्चालित न्यायका लागि हाम्रो शक्ति परियोजनाको प्राविधिक सहयोगमा कार्य ढाँचा निर्माण गर्न थालिएको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नीति तथा कार्यक्रम निर्माण, दिगो विकास सुनिश्चित गर्दै वातावरणीय सन्तुलन कायम राख्ने र जोखिम न्यूनीकरण तथा जलवायु सहनशीलता प्रवर्धन गर्ने उद्देश्यका साथ कार्य ढाँचा निर्माण गर्न थालिएको हो । ढाँचा निर्माणका लागी नगर स्तरीय सरोकारवाला सँग दोस्रो पटक बैठक गरी ढाँचा माथि छलफल चलाइएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्य ढाँचा तर्जुमा दिग्दर्शन २०८१ को आधारमा स्थानीय विपद् तथा जलवायु परिवर्तन कार्य ढाँचा निर्माणको कार्य अगाडी बढाइएको डिएसडिसीका कार्यकारी निर्देशक रामशरन रैदासले जानकारी दिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक राम प्रसाद भट्टराईले नगरका १२ वटै वडामा गरिएको फिल्ड स्तरको सर्वेक्षण, प्राथमिक र द्वितीय तथ्याङ्कका आधारमा तयार पारिएको कार्य ढाँचाको मस्यौदा प्रस्तुत गरी सुझाव सङ्कलन गरेका थिए । केन्द्र देखी स्थानीय तह सम्मको बिपद व्यवस्थापन समितिको सरोकारको विषय वातावरण संरक्षण भएको जनाउँदै ढाँचाले दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने भट्टराईले दाबी गरे । अल्पकालीन एवम् दीर्घकालीन योजनाका साथ विपद् व्यवस्थापनका गतिविधिहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू र सरोकारवाला निकायहरूबिचको साझेदारी, समन्वय र सहकार्यमा प्रतिबद्धता र ऐक्यबद्धताका साथ योजना तर्जु‘मा देखि कार्यान्वयनसम्मका कार्य गर्नु पर्ने विषयलाई कार्य ढाँचा निर्माणले सम्बोधन गर्ने उनले स्पष्ट पारे । सो ढाँचाको मस्यौदामा परिचय, बिपद र जोखिमको बुझाई, विपद् तथा जलवायु उत्थानशील योजना, बजेटको विनियोजन र विकास योजनामा मूल प्रवाहीकरण, कार्यान्वयन र अनुगमन तथा मुल्यांकन विषय समेटिएको छ ।
कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाले कार्य ढाँचामा सम्पूर्ण सरोकारवालाको पहिचान गरेर समेट्नु पर्ने, नगरका योजना र कार्यक्रममा कार्य ढाँचा कार्यान्वयनको सुनिश्चितता गर्नु पर्ने, श्रोत व्यवस्थापनको सुनिश्चितता हुनु, विपद् पश्चात् तत्कालै सहयोग र उद्धार सामाग्रीको तयारी गर्नु पर्ने, विपदमा परेका महिला र बालबालिका माथि हिंसा हुन नदिन सचेत हुनु, विपद्का घटना सम्बोधन गर्न पर्याप्त बजेटको सुनिश्चितता गर्नु पर्ने र कार्यान्वयनको सुनिश्चित हुने गरी कार्य योजना निर्माण गर्नु पर्ने सुझाव दिएका थिए । कार्य ढाँचा निर्माणले विपद्का घटना सम्बोधन गर्न र पूर्व तयारीमा सहज हुने कपिलवस्तु नगरपालिकाका वन तथा वातावरण शाखाका प्रशासकीय अधिकृत बिनोद कुवरले बताए । कपिलवस्तु नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले कपिलवस्तु नगरपालिका विपद्का घटनाको पूर्व तयारीका लागी गम्भीर रहेको जनाउँदै कार्य ढाँचा तयार पारि कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।