© २०२३
सुर्खेत,२७ जेठ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई नियुक्त गरिएको भन्दै अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले कानुनी व्यवस्था विपरीत कर्मचारीलाई नियुक्त गरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, सदस्यसचिवमा नियुक्त भएका कर्मचारी हमाल र प्रदेश खेलकुद विकास परिषद्लाई विपक्षी बनाएर खत्री र रावतले सोमबार रिट दायर गरेका हुन् ।
‘आर्थिक अधिकार सहित हमाललाई नियुक्त गरी कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा २, ५, ६, ७, १२, कर्णाली प्रदेश सुशासन ऐन, २०७६ को दफा १३, १४, १५, १६, १७ विपरीत गैर कानुनी, स्वेच्छाचारी निर्णय गरेको छ ।’ रिटमा उल्लेख छ ।
जेठ १८ गते बसेको मन्त्रिपरिषद्ले हमाललाई सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । अदालतमा दायर रिट निवेदन अनुसार तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाल लगायतका परिषद्का पदाधिकारीहरूको कार्यकाल ०८१ पुस ६ गते सकिएको थियो । त्यसयता अहिलेसम्म परिषद् पदाधिकारीविहीन अवस्थामा छ ।
परिषद्को सदस्य–सचिव ऐनको दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) (ग) बमोजिमको कार्यविधि अवलम्बन गरी सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले सदस्यसचिवको नियुक्ति गर्ने ऐनमा प्रावधान छ । सामाजिक विकास मन्त्रालयले परिषद्को सदस्यसचिवको पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयको सचिव र मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका अन्य दुई जना विज्ञसमेत गरी तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।