Butwal Today

भूमिकास्थानमा शैक्षिक उत्प्रेरणा कार्यशाला 

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

अर्घाखाँची, २७ जेठ ।

“सहकार्य, सङ्कल्प र सफलताको लागि” भन्ने नाराका साथ जेठ २५ गतेदेखि भूमिकास्थान नगरपालिकाका १३ वटा माध्यमिक विद्यालयमा उक्त कार्यशाला सञ्चालनमा ल्याएको हो । कार्यशालाको उद्घाटन आइतबार बालशिक्षा मावि ढाकावाङ्गमा भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले उद्घाटन गरेको कार्यक्रम सोमबार भूमिकास्थान–३ धारापानीमा रहेको अन्नपूर्ण मावि र भूमिकास्थान–२ ढाकावाङ्गमा रहेको विश्व माविमा सम्पन्न भएको छ ।

१ हप्तासम्म पालिकाका १३ वटा माध्यमिक विद्यालयमा हुने कार्यशालामा त्रिवि केन्द्रीय क्याम्पसका उपप्राध्यापक डा. तारालाल श्रेष्ठ र पुरन पोख्रेलले गुणस्तरीय शिक्षामा सबै पक्षको भूमिका, प्रेरणा र मनोबल अभिवृद्धि, विद्यार्थीको समग्र विकास, तथा विद्यालय व्यवस्थापनमा पारदर्शिता र जबाफदेहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यशालामा माध्यमिक विद्यालय स्तरीय शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमले सबै सरोकारवालाबिच सहकार्यको भावना विकास गर्ने र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएर शैक्षिक उत्प्रेरणा सम्बन्धी कार्यशाला सञ्चालनमा ल्याएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।