Butwal Today

बैशाखमा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड, १ खर्ब ६५ अर्ब रुपैयाँ भित्रियो

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ।

 वैदेशिक रोजगारमार्फत भित्रिने रेमिट्यान्स रकममा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, आर्थिक वर्षको बैशाख महिनामा मात्रै नेपालले १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स प्राप्त गरेको छ। यो अहिलेसम्मकै एक महिनाको सबैभन्दा उच्च रेमिट्यान्स हो।

यसअघि फागुन महिनामा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको रेकर्ड थियो, जुन अहिलेको नयाँ तथ्याङ्कले पार गरेको छ। अघिल्लो बैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको थियो भने यस वर्षको बैशाखसम्म आइपुग्दा कूल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो १६.९ प्रतिशतले वृद्धि हो।

राष्ट्र बैंकले जनाए अनुसार, अमेरिकी डलरमा हेरिएको रेमिट्यान्स आप्रवाह पनि १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १४.८ प्रतिशत थियो। सोही अवधिमा कुल खुद ट्रान्सफर आय १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब १ अर्ब ७५ करोडभन्दा उल्लेखनीय रूपमा बढी हो।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि उच्च छ। वैदेशिक रोजगार विभागका अनुसार, बैशाख मसान्तसम्म नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) प्राप्त गर्नेको संख्या ४ लाख ५ हजार ६१० पुगेको छ, भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ।

रेमिट्यान्स आप्रवाहमा आएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो, विशेषतः विदेशी मुद्रा सञ्चिति र उपभोग क्षमताको सन्दर्भमा।