Butwal Today

वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि अनिवार्य स्वास्थ्य परीक्षण प्रणाली लागू

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई सुदृढ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अनिवार्य विस्तृत स्वास्थ्य परीक्षण प्रणाली लागू गरेको छ।

नयाँ प्रणालीले श्रमिकको स्वास्थ्य जोखिम न्यून पार्ने मात्र होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको विश्वसनीयता र प्रतिस्पर्धात्मकता पनि बढाउने अपेक्षा गरिएको छ।

यो व्यवस्था श्रम मन्त्रालयको पहलमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा गठित विज्ञ समितिको सिफारिसमा आधारित रहेको मन्त्रालयले जनाएको छ। समितिमा सार्वजनिक स्वास्थ्य, रेडियोलोजी, मानसिक स्वास्थ्य, आन्तरिक रोग, जनस्वास्थ्य प्रयोगशाला र अन्य विविध विषयका विज्ञहरू सहभागी थिए।

परीक्षणमा समेटिएका प्रमुख पक्षहरू:

श्रमिकको सम्पूर्ण स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न विभिन्न शारीरिक, मानसिक, प्रयोगशाला र जीवनशैलीसम्बन्धी परीक्षणहरू अनिवार्य गरिएका छन्।

मुख्य परीक्षणहरूमा:

  • मधुमेह, उच्च रक्तचाप, क्षयरोग, मिर्गौला तथा मुटु रोग, क्यान्सर र मानसिक स्वास्थ्य मूल्यांकन

  • रक्त परीक्षण प्लेटलेट, ब्लड सुगर,  आदि)

  • टीबी परीक्षण (छाती एक्स–रे, म्यान्टोक्स)

  • कलेजो–मिर्गौला परीक्षण

  • एचआईभी, हेपाटाइटिस बी र सी, भीडीआरएल/टीपीएचए

  • ईसीजी, पेट/पेल्भिस अल्ट्रासाउन्ड

  • मलेरिया, फाइलेरिया, पिसाब परीक्षण, रक्त समूह परीक्षण आदि

विशेष गन्तव्यजस्तै मलेसिया, जीसीसी मुलुक, युरोपका लागि मादक पदार्थ परीक्षण (गाँजा, ओपियट्स, कोकेन, मेथाम्फेटामिन) अनिवार्य गरिएको छ। साथै, कार्यको प्रकृतिअनुसार पेशा–सम्बन्धी रोग परीक्षण पनि गरिनेछ।

स्वास्थ्य केन्द्रहरूका लागि नयाँ मापदण्ड:

नयाँ प्रणाली कार्यान्वयनका लागि प्रमाणित स्वास्थ्य केन्द्रहरूमा पूर्वाधार र दक्ष जनशक्ति अनिवार्य गरिएको छ।
त्यसअनुसार:

  • डिजिटल एक्स–रे, कलर डप्लर अल्ट्रासाउन्ड, स्वचालित ल्याब प्रणाली (बायोक्यामिस्ट्री, हेमाटोलोजी,)

  • रेडियोलोजिस्ट, एमडीजीपी, ल्याब टेक्निसियन लगायतको टोली

  • यूपीएस/जनरेटर, ब्लड कलेक्शन रुम, रिपोर्टिङ र प्रतीक्षालय

यो विस्तृत स्वास्थ्य परीक्षण प्रणाली कार्यान्वयन भएसँगै श्रमिकको सुरक्षामा सुधार, वैदेशिक रोजगारदातासँगको विश्वास अभिवृद्धि, र कार्यक्षमता सुनिश्चित गर्ने प्रयास गरिएको छ। मन्त्रालयले देशभर प्रमाणित केन्द्रमार्फत परीक्षण सुरु भइसकेको जनाएको छ।