© २०२३
बुटवल, २६ जेठ ।
अहिले वर्षा लाग्नु भन्दा ठिक अघिको समय प्रि–मनसुन सुरु भइसकेको छ । पहाडी जिल्लासँगै बुटवल र आसपासका क्षेत्रमा फाट्टफुट्ट वर्षा भइरहेको छ । जेठको उखरमाउलो गर्मीमा परेको पानीले बुटवलको तिनाउ नदी आसपासका स्थानीयलाई भने शीतलता प्रदान गर्न सकेको छैन । बरु वर्षा सुरु नहुँदै उनीहरूको मनमा विपथको डरले सताउन थालेको छ ।
आकाशमा कालो बादल देख्नासाथ बुटवल बुद्धनगरकी कल्पना गुरुङको मन अँध्यारो हुन्छ । २०७३ सालमा तिनाउको बाढीले झोलुङ्गे पुल र वरपरका घरहरू बगाएको स्मरण गर्दै उनले अब कहिल्यै त्यस्तो दुखद घटना भोग्न नपरोस् भन्ने कामना गरेको बताइन । ‘यसपालिको वर्षामा झन् धेरै पानी पर्छ भन्छन् कतै खोलामा आउने बाढीले बगाउने होकि, घरबासमा क्षति गर्ने हो की भन्ने डरले निदाउन सकेका छैनौँ’ गुरुङले भनिन् ।
२०७३ को साउनमा आएको बाढीले बुटवलको देवीनगर र बुद्धनगर जोड्ने पुलसँगै केही घरहरू बगाएको थियो । पुल बगाउँदा तिनाउ पारीका मोतीपुर, सेमलार, फर्साटिकर लगायतका दजर्नौ बस्तीका बासीन्दाहरूलाई बुटवल आउजाउमा निकै सास्ती झेल्नु प¥यो । बाढीकै कारण कयौँ परिवार घरबार विहीन भए । विपथको त्यो घटनालाई सम्झँदै कल्पना भन्छिन् ‘प्राकृतिक विपत्तिको अगाडि कसैको केही नलाग्ने रहेछ’ ।
वि.सं.२०३८ मा तिनाउ नदीमा आएको बाढीको कथा मात्रै सुनेकी बुद्धनगरकी धना पौडेलले पनि २०७३ को बाढीले पुल बगाउँदा आवतजावतमा निकै समस्या भएको र मेलामजदुरीको काममा जान समेत नसकेको बताइन । त्यति बेला मेरा छिमेकीहरूको घर बाढीले बगायो, हाम्रो पनि बगाउँछ कि भनेर कयौँ रात नसुती बस्यौँ’ पौडेलले भनिन् । अहिले पनि बर्सातको समय सुरु भएपछि दिनरात डर त्रासमा बित्ने गरेको उनले बताइन ।
बुटवललाई तिनाउ र दानव नदीको बाढीले मात्रै होइन ज्योतिनगरको पहिरोले पनि निकै ठुलो क्षति र दुःख थपिदिएको छ । पहिरोको जोखीमकै कारण ज्योतिनगर र लक्ष्मीनगरका कतिपय स्थानीय त वर्षा सुरु भएपछि आफ्नो घरबास नै छाडेर अन्यत्र बसाई सर्न बाध्य हुन्छन् । २०५५ सालको भदौमा बुटवलको ज्योति नगरमा ठुलो पहिरो गएको थियो । त्यतीबेला दजर्नौ घरहरू पुरिएका थिए । त्यसयता ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा साना ठूला पहिरो झरिरहन्छ ।
२०७८ सालमा पनि पहिरोले एक दर्जन बढी घरमा क्षति पुगेको थियो । गतबर्ष पनि केही घरहरू पहिरोको चपेटामा परे । ज्योतीनगरको पहिरोले कयौँ परिवार यहाँबाट विस्थापित भइसकेका छन् । अहिले पनि ज्योतीनगर र लक्ष्मीनगरको उपल्लो क्षेत्र पहिरो जोखिम क्षेत्रमै पर्छ । जोखिम क्षेत्रका बासिन्दाले हरेक वर्ष यसको दिगो व्यवस्थापन र समस्या समाधानको ठोस पहल गर्न सरकारसँग माग गर्दै आएका छन् । स्थानीयले पहिरोको जोखिम न्यूनीकरण कालागि तिन वटै सरकारले जिम्मेवारी लिनुपर्ने माग गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय बुटवलको फूलबारी क्षेत्रमा पनि पहिरोको जोखिम बढेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक फराकिलो बनाउने क्रममा फूलबारी क्षेत्रमा रुखहरू काटिएकाले सो क्षेत्रमा पहिरोको जोखिम बढेको बताइएको छ । त्यसतर्फ पनि समयमै ध्यान नदिए बुटवलले यसपालि अर्को ठुलो क्षति व्यहोर्न सक्ने देखिएको छ ।
विगतलाई केलाउने हो भने विभिन्न कालखण्डमा बुटवलले विपद्का ठुलठुला घटनाको सामना गर्दै आएको छ । वर्षाको समयमा बाढी, पहिरो र हिउँदमा हुने आगलागीका घटनाहरूबाट नगरले ठुलो क्षति व्यर्होर्दै आएको छ ।
वर्षाको समयमा तिनाउ र दानव नदिको बाढी र कटानसँगै ज्योतिनगरको पहिरोले क्षति पु¥याउँदै आएको छ । यो नगरमा सबैभन्दा धेरै बाढी, पहिरो, झाडापखाला, हैजा, डेङ्गो जस्ता विपद्को जोखिम रहेको विज्ञहरू बताउँछन ।
यिनै विपद्जन्य घटनालाई कम गर्दै क्षति न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारले विभिन्न योजनाहरू अगाडी बढाएका छन् । बाढी, पहिरो, डुबान जस्ता विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरण गर्दै बुटवल र बुटवलवासीलाई सुरक्षित गर्न बुटवल उपमहानगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना बनाएर काम गरेको उपप्रमुख सावित्रीदेवी अर्यालले बताइन ।
त्यसअन्तर्गत नै उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम प्रदान गरी आवश्यक सामग्रीहरूको व्यवस्थापन गरिएको उपप्रमुख अर्यालले जानकारी दिइन । बाढी पहिरोबाट जोगाउन तार जाली तयारी अवस्थामा भण्डारण गरेको उनले बताइन । ‘प्राकृतिक विपत्ति हाम्रो कल्पना भन्दा बाहिर छ तर पनि त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर लागिरहेका छौ । तत्कालै हामीले बस्ती बचाउने अभियान अन्तरगत वडा नं. १२ मा तार जाली लगाएर दानव खोलामा तटबन्ध गरेका छौँ’ उपप्रमुख अर्यालले भनिन ।
प्राकृतिक विपत् तथा विभिन्न खाले प्रकोपको जोखिम न्यूनीकरणका लागि विशेष योजना बनाएर काम गरिरहेको उनले बताइन ।महिला तथा बालबालिकाहरू विपथको प्रकोपबाट बढी जोखिममा रहेकाले उनीहरूलाई विशेष प्राथमिकतामा राखेका छौँ,विपतमा परेकाहरूको उद्धार र राहतका लागि हामी चौबिसै घण्टा तयारी अवस्थामा रहन्छौँ’ उपप्रमुख अर्यालले भनिन् । विपदमा परेकाहरूको सहयोगका लागि उपमहानगरले प्रकोप व्यवस्थापन कोष खातामा १ करोड रूपैँया विनियोजन गरेको थियो । सो कोषबाट मात्रै अहिले सम्म करिब ७० लाख खर्च भइसकेको अर्यालले जानकारी दिइन ।
वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख योगेश चापागाईले पछिल्लो समयमा ज्योतिनगरको पहिरोले ठुलो समस्या परेका कारणले नगरले त्यसका लागि सङ्घीय सरकारको सहयोगमा तटबन्ध निर्माण, पानीको मुहान तर्काउने, खोल्सा व्यवस्थापन लगायतका कामहरू गरेको बताए । पहिरो नियन्त्रकैलागि गत वर्ष वृक्षारोपण गरेको उनले बताए । उपमहानगरले बाढीको प्रकोप नियन्त्रणका लागि पाल्पाको दोभान क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्थापन पनि गरेको छ । चापागाइका अनुसार पूर्व सूचना प्रणालीका लागि दोभानमा सात जनाको क्याडर टिम छ ।
तिनाउ नदीमा बाढी आउने बित्तिकै उनीहरूले बुटवलका विभिन्न स्थानमा सूचना दिन्छन् तिनाउ नदीमा बाढीका कारण हुने क्षति नियन्त्रण गर्न साइरन समेत जडान गरेको चापागाईँले बताए । यसले गर्दा बाढी आउनासाथ साइरन बजाएर सबैलाई सूचित गरिन्छ । त्यस्तै नगरपालिकाले आगलागी नियन्त्रणका लागि दुई वटा दमकल र १४ जना जनशक्ति २४ सै घण्टा तयारी अवस्थामा राखेको छ । यसले आगलागीबाट हुने क्षति कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । बुटवलमा सबैभन्दा धेरै बाढी, पहिरो, हैजा, डेङ्गो जस्ता विपद्को जोखिम रहेको नगरपालिकाको सूचना शाखाले जनाएको । जसमध्ये बाढी र डेङ्गु प्रमुख प्रकोपको रूपमा देखिएका छन् । त्यस्तै विद्युत् करेन्ट, आगलागी र शीतलहर, हावाहुरी, सर्पदंश, तातोहावा, चट्याड., जङ्गली जनावर र कुकुरको टोकाइको पनि समस्या छ ।
यस्ता समस्याहरूको निराकरणकालागि सम्बन्धित शाखाहरू मार्फत सूचना सम्प्रेषण गर्ने र जनचेतना जगाउने कामहरू पनि गरिरहेको छ । यता लुम्बिनी प्रदेश सरकारले यो वर्षको मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी प्रतिकार्य योजना निर्माणको काम सुरु गरेको जनाएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले मनसुनजन्य विपदबाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने राष्ट्रिय प्रक्षेपणलाई गम्भीरतापूर्वक लिनुपर्ने निष्कर्ष निकालेको छ । समुदायको सक्रिय सहभागिता र समन्वयबिना विपद् प्रतिकार्य प्रभावकारी हुन नसक्ने भएकाले स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाबिच एकीकृत समन्वय जरुरी रहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ को आधारमा लुम्बिनीमा करिब ५ लाख २३ हजार जनसङ्ख्या प्रभावित हुने अनुमानसहित रणनीति बनाएको छ ।
विपद् व्यवस्थापन परिषद्को बैठकले प्रभावित क्षेत्रका सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन, राहत र पुनः स्थापनाको योजना, खाद्यान्न तथा स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा पछिल्ला १० वर्षमा १ हजार ६१८ विपद् घटनाबाट ८ हजार ३१५ परिवार प्रभावित भएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका फोकल पर्सन गंगाधर पाण्डेका अनुसार यस अवधिमा ४ सय ५९ जनाको मृत्यु र ६ सय १९ जना घाइते भएका छन् । २०७३ सालमा सबैभन्दा धेरै १ सय ७ जना नागरिकले ज्यान गुमाएका थिए ।