Butwal Today

भिजिट भिसा विवादमा सहमतिको प्रयास जारी

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

भिजिट भिसा प्रकरणमा राजनीतिक दलहरू सहमतिको खोजीमा जुटिरहेका छन्। यद्यपि सहमतिको मूल भाष्य र बुँदामा अझै स्पष्ट सहमति बनेको छैन।

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। सो बैठकअघि सहमति जुटाउने प्रयास भइरहेकाले प्रमुख दलहरूबीच बहुपक्षीय र दुईपक्षीय छलफल तीव्र बनेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकअघि सहमतिको कुनै न कुनै आधार तयार गर्ने प्रयास भइरहेको छ।

सत्तापक्षले प्रारम्भिक सहमति जुटाउने जिम्मेवारी लिएर मस्यौदा तयार पारेको छ। मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा भने अख्तियारको अनुसन्धानपछि ‘समग्रतामा हेर्न आवश्यक संयन्त्र’ बनाउने भनिएको छ — जसमा विपक्षी दलहरूले असहमति जनाएका छन्।

माओवादी केन्द्र र रास्वपाले मस्यौदामा ‘संसदीय छानबिन समिति’ वा ‘उच्चस्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने स्पष्ट शब्द राख्नुपर्ने माग राखेका छन्।

दुवै पक्षले आ-आफ्ना प्रस्तावित भाषालाई समेटेर साझा मस्यौदा बनाउने प्रयास भइरहेको नेताहरूको भनाइ छ।विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। आज सहमति जुट्न सकेमा प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीअनुसार अगाडि बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?