© २०२३
चन्द्रौटा, २६ जेठ ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले बरघरले थारु समुदायलाई जोड्दिनुपर्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरी थारु सङ्ग्रहालयमा सोमबारबाट सुरु भएको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बरघर प्रथा थारु समुदायको महत्त्वपूर्ण पक्ष रहेको बताउँदै उनीहरूको क्षमतामा विकास भए समुदायलाई प्रभावकारी हुने बताए । पछिल्लो समय थारु समुदायको बालबालिकाहरूले विद्यालय छाड्ने क्रम बढेको उनले जनाए । मेयर थापाले बरघर चलनको विगतका दिनलाई स्मरण गर्दै समाज व्यवस्थित ढंगाले परिचालन गर्न बरघरले सराहनीय भूमिका रहेको उनको भनाइ छ ।

आर्थिक अवस्था कारणले प्रभावित भएको विशेष गरी थारु समुदायको शिक्षा केही समय यता सुधारोन्मुख भएको उनले बताए । निःशुल्क शिक्षाले विपन्न समुदायका बालबालिकाहरूलाई निकै राहत पुगेको थापाले जिकिर गरे । यसैबिच वडा नम्बर १ वडा अध्यक्ष खिम बिक्रम केसीले बरघरले समाजको विकास गर्न अहम् भूमिका खेलेको बताए । अहिले बरघर प्रथा लोप हुँदै गए पनि यसको थारु समुदायलाई उचाइमा पु¥याउन महत्त्व ऐतिहासिक योगदान रहेको उनले जनाए ।
यस्तै थारु कल्याणकारीणी सभा शिवराज नगर कार्य समितिका सभापति प्रकाश चौधरीले समुदायको प्रभावकारी रुपमा विकास गर्न यस तालिमले उल्लेखनीय भूमिका रहने बताए । बरघरले समाज विकासमा अतुलनीय टेवा पुग्ने विश्वास व्यक्त गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाई छ ।
शिवराज नगरपालिकाको सहयोग र थारु सङ्ग्रहालय संरक्षण समितिको समन्वयमा सञ्चालन भएको उक्त तालिम २ दिन सम्म चल्ने रहने आयोजकले जनाएको छ । बरघर प्रथाको इतिहास, व्यवस्था, सरकारी मान्यता र कानुनी प्रावधान लगायत विषयमा प्रशिक्षक सोम डेमनडौराले शिवराज नगरपालिकाका ३४ गाउँका बरघरहरुलाई प्रशिक्षण दिएको सचिव उमेश थारुले जनाकारी दिए ।