© २०२३
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाईसीएललाई प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध सशक्त रूपमा उभिन स्पष्ट निर्देशन दिएका छन्।
सोमबार बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा प्राप्त राजनीतिक उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेकाले त्यसविरुद्ध दृढतापूर्वक सामना गर्नुपर्ने बताएका हुन्।
उनको भनाइमा, “प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले जनयुद्ध, माओवादी आन्दोलन, युवा शक्ति, वाईसीएल र जनमुक्ति सेनाको योगदानलाई अपमानित गर्ने प्रयास गरिरहेका छन्। अब तपाईंहरूको यो टिम जनरल स्टाफ जस्तै हो, पार्टीको नेतृत्वमा तपाईंहरू खरो र दृढ भूमिकामा उभिनुपर्छ।”
प्रचण्डले हालै विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमलाई क्षमताको केन्द्रिकरण भएको भन्दै संगठनलाई अझ गतिशील र चुस्त बनाउन सकिने विश्वास व्यक्त गरे।
विधान संशोधनको आलोचना भएको विषयमा पनि प्रतिक्रिया दिँदै उनले भने, “विधान पारित गरेर भोलिपल्ट संशोधन गरियो भनेर मलाई पनि सुनाएका थिए। तर तपाईंहरूले सहमतिमा निर्णय लिनुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन।”
उनको यो अभिव्यक्तिलाई माओवादी आन्दोलनको वर्तमान राजनीतिक अवस्था र वाईसीएलको भूमिकालाई सुदृढ बनाउने सन्देशका रूपमा हेरिएको छ।