Butwal Today

अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो ‘विद्यार्थीसँग अखिल’ अभियान

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरण र विस्तारको उद्देश्यसहित ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ। तीन महिनासम्म सञ्चालन हुने यो अभियान भदौ २५ गतेसम्म चल्नेछ।

अभियानले देशभरका शिक्षण संस्थाहरूमा संगठन निर्माण र सदस्यता विस्तारमा ध्यान केन्द्रित गरेको छ। उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख मदन ढकालका अनुसार अभियानको मुख्य उद्देश्य पाँच लाख सदस्यता वितरण गर्नु हो, जसमा नयाँ सदस्यता र नवीकरण दुवै समावेश छन्।

अभियान अन्तर्गत ‘एक एकाइ, एक प्रशिक्षण’, ‘जनपरिचालन’, ‘प्रत्येक सदस्य, सङ्गठित सदस्य’ र ‘हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।

अभियानलाई प्रभावकारी बनाउन सात भूगोल, उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशसमेत गरी नौ प्रदेशमा नेतृत्व तोकिएको छ। प्रत्येक प्रदेशमा एक उपाध्यक्षलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। कोशीमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य, सुदूरपश्चिममा उमेश कँडेल, उपत्यकामा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दिप पुनलाई अभियानको कमाण्डरको रूपमा तोकिएको छ।

यो निर्णय अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय समितिको पहिलो पूर्ण बैठकबाट पारित भएको हो। संगठनलाई नयाँ ढंगले परिचालन गर्ने प्रयासस्वरूप सुरु गरिएको यो अभियान विद्यार्थी राजनीति क्षेत्रमा चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?