Butwal Today

नेपाल बैंकका पूर्वअध्यक्षसहित रुपन्देहीका तीन व्यवसायीविरुद्ध मुद्दा दायर

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

बुटवल, २६ जेठ ।

रुपन्देहीका उद्योगी व्यवसायी बालकृष्ण भुसाल र उनका दुई छोराहरु अमृत भुसाल, अंकित भुसालविरुद्ध अख्तियार मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

रूपन्देही सिद्धार्थनगर९१ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टले नेपाल बैंक लिमिटेडबाट एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिने क्रममा ऋण मिलाउन अनियमितता गरेको आरोप लागेको छ ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार १ अर्ब ७७ करोड २९ लाख ८६ हजार सात सय छैसट्टी ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडि बढेको देखिएको र ऋण प्रक्रियाको लागि नेपाल बैंक लिमिटेडमा कागजात पेश गरेपश्चात भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजको छोरा तथा भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकित भुसालको संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसँग पटक पटक ह्वाटअप मार्फत कुराकानी, भेटघाट हुने गरेको र चन्द्र बहादुर अधिकारीले नेपाल बैंकबाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन रकम दिएको प्रमाण भटिएको उल्लेख छ ।

विज्ञप्तिमा प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा २०८१ भदौं ३० गते भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरेपश्चात बालकृष्ण भुसालको प्राइम बैंकको चेक प्राप्त गरी गराई भारतीय नागरिक लक्की खान भन्ने खुस नसिब अन्सारीकोमा काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई सात लाख र शारदा गुप्ताको नाममा दर्ता रहेको आन्या इन्टरप्राइजेज सिटिजन बैङ्कको खातामा अमृत भुसालको एभरेष्ट बैङ्कमार्फत १२ लाख रकम ट्रान्सफर गर्न लगाई जम्मा गरे गराएको देखिएको उन्नाईस लाख रकम भारतीय नागरीक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत चन्द्र बहादुर अधिकारीले प्राप्त गरेको देखिएकोले उन्नाईस लाख घुस रिसवत रकम भुसाल हस्पिटालिटीका पदाधिकारी बालकृष्ण भुसालसमेतसँग माग गरी लिन दिन मञ्जुर भएको जनाइएको छ ।

सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरणसहितका कागजात २०८१ माघ २३ गते चन्द्रबहादुर अधिकारीको घरकोठाबाट बरामद भएको, नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीले लक्की खान भन्ने खुसनसिब अन्सारीसमेतका प्रतिवादीहरूको मिलेमतोमा नेपाल बैक लिमिटेडबाट भुसाल हस्पिटालिटीलाई ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग उन्नाईस लाख घुस लिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।