© २०२३
नवलपरासी पश्चिम्, २५ जेठ ।
संघ सरकारले बजेट सार्वजनिक गरेसँगै सरकारबाट प्राप्त योजनामा यतिबेला नेता कार्यकर्ताबिच जस लिने होडबाजी नै चलेको छ । पश्चिम् नवलपरासीमा पनि यस्तै दृश्य देखिएको छ । योजना सिफारिसको पत्र देखि नेताका तस्विर र योजना सहितका पोष्टहरु सामाजिक संजालमा ब्याप्त छन् ।
विशेष गरी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा अहिले कसले जस र पहलकदमी लिने भन्ने हारालुछ भएको छ । ठुला पार्टी नेकपा एमाले र नेपाली काङ्ग्रेसका केही नेता तथा कार्यकर्ताबिच हानथापसँगै व्यापक प्रचारबाजी गरिएको छ । यस क्षेत्रबाट नेपाली काङ्ग्रेस बाट निर्वाचित सांसद विनोद चौधरी, नेकपा एमालेकी सांसद सरिता भुसाल सहित एमाले र काङ्ग्रेसका अन्य नेताहरुले आफ्नो पहलमा बजेट आएको दावी गरेका छन् ।
लुम्बिनी प्रदेशका पूर्व प्रदेश सभा सदस्य एवं नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले आफूहरुको पहलमा आएका योजनामा समेत सांसद विनोद चौधरीले जस लिएर भ्रामक प्रचार गरेको आरोप लगाए । पार्टीले आयोजना गरेको सार्वजनिक फोरममा अध्यक्ष अधिकारीले अरुले पारेको बजेटमा समेत चौधरी आफै शिलान्यास गर्दै हिडेको र जनतालाई भ्रममा राखेको उनले बताए ।
एमालेकी समानुपातिक सांसद सरिता भुसालले पनि आफ्नो पहलमा पारेका केही बजेटहरु पनि अरुको पहलमा भनेर विभिन्न सामाजिक सन्जालमा अनावश्यक प्रचार गरिएको बताइन् । “जस लिने नलिने भन्दा पनि आफूले गरेको कामको जस अरुले त लिनु भएन नि, हामी जनताकै लागि लागेका छौ, जसले ल्याए पनि विकास नै हुने हो तर सबै काम एउटैले गरेको हो भन्ने प्रचार गरिदैछ, यस्तो हुनु हुँदैन”–भुसालले भनिन् ।
संविधान सभा सदस्य एवं नेपाली काँङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले पनि काम गर्ने एउटाले प्रचारबाजी गर्ने अर्कोले गरेको जिकिर गरे । “हाम्रो पालामा पनि बजेट त आएको थियो, मेरै कार्यालयमा ५ वटा मोटरेबल पुल, सडक सञ्जाल अनेकौ विकास भए तर खै हामीले जनताको काममा यस्तो अनावश्यक प्रचार गरिएन”–खनालले भने ।
यता विनोद चौधरीका सचिवालयमा योजना हेर्ने तिलक राम शर्माले भने सांसद चौधरीको पहलमा परेका योजनाहरुमा काम सम्पन्न भएपछि समयले देखाउने उल्लेख गरे । “माननीय ज्युसँग हिजो मात्रै मेरो कुरा भएको थियो उहाँले जसले पहल गरेपनि आखिर बिकास नै हुने हो सबैले आ आफ्नो ठाउँबाट पहल गरे जसले गरेपनि यसै क्षेत्रको विकासका लागि नै हो भन्नु भएको थियो”–शर्माले भने ।
नवलपरासीबाट निर्वाचित प्रदेश सांसदहरुले समेत एक्लै जस लिन खोजिएको आफ्ना योजनामा समेत अरुले दाबी गरी प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।य द्यपि काङ्ग्रेसबाटै निर्वाचित भएका र एउटै पार्टी भएकाले उनीहरु खुलेर बोल्न भने चाहेनन् ।
“विनोद जि निर्वाचित भएको बल्ल तीन वर्ष भएको छ, २५ वर्ष देखि यहाँ अरु नेताले पनि चुनाव जित्दै आएका छन्, अब ३ वर्षमै विनोद जिले नै सम्पूर्ण विकास एकैचोटि गर्नु पर्छ भन्ने धारणा पनि बनाउनु भएन नि”–चौधरी निकट एक नेताले भने ।
“हामीले ल्याएको बजेटमा समेत आफ्नो पुस्तिकामा आफूले गरेको भनेर साना साना सबै योजना पनि उहाँले समावेश गरेर बाँड्नु भो, प्रचार गर्नु भयो, काम कसले गरेको हो भनेर हामीले भन्ने होईन जनताले मूल्यांकन गर्ने र नतिजाले देखाउने कुरा हो त्यसैले प्रचारबाजी गरिरहनु पर्दैन”–काङ्ग्रेसकै एक जना प्रदेश सभा सदस्यले भने ।
प्रतिनिधि सभा सदस्य चौधरीले भने हरेक कार्यक्रममा विकास निर्माणका कुरामा दल, पार्टी वा कुनै बहानामा राजनीति गर्न नहुने बताउँदै आइरहेका छन् । अलग पार्टी भएकै कारण आफुले फरक दृष्टिकोण नराख्ने उनले बताउँदै आएका छन् । सार्वजनिक फोरममा उनले कसैको पनि नाम उल्लेख गरेर विरोध भने गरेका छैनन् । यद्यपि चौधरीको विरोधमा भने नेकपा एमालेका नेता, काङ्ग्रेसकै केही नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । प्रचार प्रसारमा भने सांसद चौधरीका शुभचिन्तकहरु अग्रपंक्तिमा नै देखिने गरेका छन् ।
केन्द्रमा गठबन्धनको सरकार रहे पनि स्थानीय स्तरमा भने दुई पार्टी एक अर्काप्रति चर्को विरोध र दोषारोपणमा उत्रने गरेका छन् ।