© २०२३
नेपालगञ्ज, २५ जेठ ।
बाँकेको राप्ती सोनारी ७ झगडिया गाउँकी ३० वर्षीया रेखा तेलीले पहिलोपटक आँपको अचार बनाउन सिकेकी छिन् । गाउँपालिकाले मधेशी र मुस्लिम समुदायका महिलाहरुको लागि आयोजना गरेको सात दिने अचार बनाउने तालिममा सहभागी भएर रेखाले थरी थरीका अचार बनाउन सिकेकी हुन् । यसअघि आँपको चट्नी र गल्का मात्र बनाएर खाने गरेको तर अहिले स्वादिलो अचार पनि बनाउन जानेको उनले बताइन् । खुशी हुँदै उनले भनिन्, ‘लामो समय सम्म तेलमा डुवाएको आँपको अचार बजारमा खाएको थिएँ, त्यस्तै तर त्यो भन्दा मिठो स्वादको अचार मैले आफ्नै हातबाट बनाउन जानेँ ।’
रेखा जस्तौ सोही ठाउँकी मिना गद्दी पनि करेलाको अचार पहिलोपटक बनाउन सिकेर आफै दङ्ग परेकी छिन् । उनले भनिन्, ‘करेलाको पनि अचार हुन्छ भनेर सुनेको थिइन तर, आज आफैले बनाउन जान्दा खुसी लागेको छ ।’ करेला र काउलीलाई फरक–फरक तरिकाले तरकारी पकाएर खाएको तर अचार पहिलोपटक बनाएको उनको अनुभव छ । तालिम अवधिभर आँप, करेला, काउली र मिक्स अचार बनाउन सिकेको मिनाले बताइन् । ‘घरमा सँधै सामान्य तरिकाले पकाएर खाने विभिन्न तरकारीलाई पनि स्वादिलो अचार बनाएर लामो समयसम्म खान सकिने कुरा अहिले मात्र थाहा भयो, यसलाई अव व्यावसायिक रुपमा बनाउन सकिन्छ’–उनले भनिन् ।
तालिमा सहभागी नन्कुनी तेलीले पनि विभिन्न थरीका अचार बनाउन सिकेर आत्म विश्वास बढेको बताइन् । घरमै बसेर अचारबाट आयआर्जन गर्न सकिने उनको विश्वास् छ । उनी भन्छिन् ‘आँप, करेला, खुर्सानी, काउली आफ्नै बारीमा फल्छ, यसैको यति स्वादिलो अचार पनि बन्दो रहेछ, अव यही अचारलाई हामी आयआर्जनसँग जोड्न सक्छौं ।’
सधै चुल्हो चौकोमा मात्र सीमित मधेशी मुस्लिम महिलाहरु अचार बनाउने तालिम लिएर व्यावसायिक रुपमा अचार बनाउने अठोट लिएका छन् । शनिवार सम्पन्न सात दिने तालिममा रेखा, मिना र नन्नकुनी सहित ३० जना मधेशी तथा मुस्लिम समुदायका महिलाहरुले सहभागिता जनाएका थिए । राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा जय वागेश्वरी असहाय बाल संरक्षण केन्द्रको समन्वयमा आयोजना गरिएको तालिममा पदम कुमारी मल्लले तालिम दिएकी थिईन् । उनले पनि पहिलोपटक मधेशी र मुस्लिम महिलालाई तालिम दिएको अनुभव सुनाइन् । उनले मधेशी, मुस्लिम महिलाहरु अन्य समुदायका महिलाहरु भन्दा खानेकुरा बनाउनेमा मेहनती र बढी सौखिन रहेको बताइन् ।” उनले भनिन्, ‘यति मेहनत गरेर खाने कुरा बनाएपछि मिठो त्यसै भैहाल्छ, अचार पनि यत्तिकै मेहनतले बनाउने हो भने सबैको रोजाईमा पार्न सकिन्छ ।’
मधेशी र मुस्लिम समुदायका महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले अचार बनाउने तालिम आयोजना गरिएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले जानकारी दिइन् । तालिम समापनका क्रममा तालिम लिएका महिलाहरु समूह नै बनाएर व्यावसायिक रुपमा अचार उत्पादन गर्ने प्रतिवद्धता जनाएको जय वागेश्वरी असहाय बाल संरक्षण केन्द्रकी प्रमुख तारा ओलीले बताइन् । उनले भनिन्, ‘यस्ता सिपमूलक तालिम धेरै ठाउँमा आयोजना हुन्छन् तर व्यवहारमा तालिममा सिकेको सिपलाई सदुपयोग गरेको पाइँदैन, तालिममा सहभागी महिलाहरु अव व्यावसायिक रुपमै अचार उत्पादन गर्न सके बजारीकरणको लागि हामी सहयोग गर्छौं ।’ तालिम अवधिभर महिलाले बनाएका एक सय ३५ डिब्बा अचार गाउँपालिकामा बुझाइले प्रमुख ओलीले बताइन् ।