© २०२३
कपिलवस्तु, २५ जेठ ।
रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ घर भएकी ‘क’ कुमारी (नाम परिवर्तित) को घरमा उनी सहित ९ जना परिवारका सदस्यहरू रहेका छन् । १० कक्षासम्म अध्ययन पुरा गरेकी उनी विवाहित हुन् । उनका श्रीमान् र एक छोरा तथा एक छोरी छन् ।५ महिना पहिले प्युठान जिल्ला घर भएका एक व्यक्तिसँग सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट चिनजान भई कुराकानी हुन थाल्यो । ती व्यक्तिले उनलाई भारतमा काम गरे २० हजार भारु मासिक कमाई हुने प्रलोभन सामाजिक सञ्जालबाटै दिए । त्यसपछि उनले भारतको पटनामा लगेर एक हप्ता विभिन्न तालिममा सहभागी गराए ।
तालिममा उत्कृष्ट भएको भन्दै उनले उत्कृष्ट प्रशिक्षक बन्न ५० हजार जम्मा गरे मासिक ३० हजार भारु कमाई हुने प्रलोभन दिई १५ हजार जम्मा गर्न लगाए उनलाई अझ बढी आम्दानी र काम सुरु गर्नका लागि आफू जस्तै अन्य साथी ल्याउनुपर्ने भनी झुक्क्याए । कुमारीले पनि उनले भने अनुसार नेपाल आएर दुई जना साथीहरू खोजेर पटना लैजान थालिन् । कपिलवस्तुको कृष्णनगरमा शान्ति पुनर्स्थापना गृह (पिआरसी) कपिलवस्तुको सीमा निगरानीका क्रममा उनी शङ्काको घेरामा परिन् । परामर्शका क्रममा मार्केटिङ बिजनेसको नाममा उनीहरू ठगिन पुगेको खुलासा भयो ।
त्यस्तै, हुम्ला जिल्ला चडखेली गाउँपालिका–१ घर भएकी ‘ख’ कुमारी (नाम परिवर्तित) २१ वर्षकी छन् । पाल्पा जिल्लामा आईटी पढ्ने क्रममा उनको आफ्नै साथीको दिदीसँग भेट भयो । उनले भारतको पटनामा राम्रो आम्दानी हुने कामको सीप सिकाउने तालिम केन्द्र रहेको र तालिम पछि मासिक ३० हजार भारु कमाई हुने प्रलोभन दिइन । उनकै प्रलोभनको आधारमा ती युवतीले घर परिवार कसैलाई जानकारी नदिई एक जना साथीको भरमा भारत जाँदै गरेको अवस्थामा पिआरसीले कृष्णनगरमा सञ्चालन गरेको सीमा निगरानीमा परिन् । परामर्शका क्रममा उनले मार्केटिङ व्यवसायको नाममा जोखिममा पर्न थालेको जानकारी पाइन् ।
क र ख कुमारी जस्तै दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१९ घर भएकी २० वर्षीय ग कुमारी (नाम परिवर्तित) को काठमाडौँ जिल्ला घर भई हाल रसीयामा रहेका एक व्यक्तिसँग सामाजिक सञ्जाल मार्फत चिनजान भयो । सामाजिक सञ्जालमा चिनजान भएकी ख कुमारीलाई ती व्यक्तिले रसीयामा हाल काम गर्ने मान्छेको कमी भएका कारणले मासिक १ लाखसम्म तलबको प्रलोभन देखाए । रसिया जान नेपाल सरकारले प्रतिबन्ध लगाएको भन्दै उनले भारतबाट रसिया आउने तरिका समेत उनले सिकाए । ख कुमारीले आफूसँगै अर्को एक जना साथीलाई साथ लिएर भारत हुँदै रसिया लैजाने क्रममा कृष्णनगरमा पिआरसी कपिलवस्तुको सीमा निगरानीमा परिन । त्यहाँ परामर्शका क्रममा उनले आफूहरू जोखिममा पर्न थालेको बुझेर परिवारको जिम्मामा घर गइन् ।
यी तिन वटा प्रतिनिधि घटनाले पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसारको स्वरूप परिवर्तन हुँदै गएको देखाएको छ । मानव बेचबिखनको जोखिममा पर्ने गरी पछिल्लो समय सामाजिक सञ्जालबाट परिचित भई जागिरको प्रस्ताव गर्ने र अनलाइन मार्केटिङको प्रलोभनमा भारत पुर्याउने गरेको देखिने गरेको छ । पहिले भारततर्फ लैजाँदा लैजाने व्यक्ति आफू पनि सँगै हुने गरेकोमा अहिले सो को स्वरूप परिवर्तन गरेर प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालबाट जाने स्थान, भेट्ने व्यक्तिहरू परिचालन हुन थालेको पिआरसीकी सीमा निगरानी कर्ता सुमित्रा भण्डारीले अनुभव सुनाइन् । पछिल्लो समय जागिरको खोजीमा रहेकाहरूलाई फेसबुक, टिकटक, फ्रि फायर र अनलाइन गेमबाट सम्बन्ध बिस्तार गरी जोखिममा पार्ने गरेको भेटिँदै आएको भण्डारी बताउँछिन् ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नाका, मर्यादपुर सीमा नाका र चाकरचौडा नाकामा सीमा निगरानी गर्दै आएको पिआरसी संस्थाकी परामर्शदाता सन्तोषी चौधरीले पछिल्लो समय सामाजिक सञ्जालबाट परिचय स्थापित गरी भारत सहित विदेशमा लैजाने गरेको घटनाहरू आउन थालेको जानकारी दिइन् । “अहिले बिकट जिल्लाबाट सुगम जिल्लामा बसेर अध्ययन गर्ने किशोरीलाई सामाजिक सञ्जालबाट विभिन्न जागिरको प्रलोभन दिने गरेको भेटिएको छ ।” चौधरीले भनिन् । यसरी प्रलोभनमा पार्ने व्यक्तिहरूले सुगम स्थानमा अध्ययन गर्ने युवती, विवाह भएर सम्बन्ध बिग्रिएका महिला र श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलालाई बढी लक्षित गर्ने गरेको उनको अनुभव छ ।
“रोजगारका लागी आफै भारतमा पुगेर जोखिममा पर्ने र भारतमा रहेका नेपाली समेत आफैँ जान अनजानमा मानव ओसार पसारमा गतिविधिमा संलग्न हुने गरेको भेटिएको छ ।” उनले भनिन । कतिपय धार्मिक शिक्षाको नाममा त कतिपय नेपालमा रोजगार छैन भन्दै आफै पनि जोखिम मोलेर भारत तर्फ जाने गरेको अर्की परामर्श दाता आरती थारु बताउछिन । आफूहरूले सीमा निगरानी गरी उद्धार पछि परामर्श गर्दा कतिपय युवतीहरू रिसाउने, कराउने र झर्कने गरेको भने कतिपयले आफू जोखिमबाट जोखिएको भन्दै खुसी भएर घर फर्किने गरेको परामर्शदाता थारुले बताइन । “जोखिममा पर्न सक्नेहरू परामर्श पछि खुसी हुँदै फर्किन्छन् । तर प्रेम सम्बन्धमा नाममा जोखिममा पर्न थालेकाहरू परिवारले जानकारी पाए भन्दै रिसाउँछन् ।” उनले अनुभव सुनाइन ।
पिआरसीको चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको तथ्याङ्कमा हाल सम्म २ सय ९५ जनाको सीमा नाकाबाट उद्धार भएको छ । त्यसै गरी सोही अवधिमा भारतबाट ४ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएका हरू मध्य ४ वटा घटनाको मुद्दा दर्ता भएका छन् । त्यसै गरी सोही अवधिमा ६ हजार १ सय ११ जना महिला र बालबालिकालाई सीमा निगरानीका क्रममा परामर्श गरिएको पिआरसीको तथ्याङ्क छ ।
पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसारका नयाँ नयाँ स्वरूप र योजनाहरू प्रयोग हुन थालेको पिआरसी कपिलवस्तुका जिल्ला सुपरभाइजर डिल्लीराज तिमिल्सिना बताउँछन् । “अझै पनि मानव बेचबिखन तथा ओसार पसार बारेको बुझाई भारतमा यौनजन्य कार्यका लागी लैजानु भन्ने छ । तर पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसारको स्वरूप हरू परिवर्तित हुँदै गएको छ ।
मानव ओसार पसारमा प्रबिधि, सामाजिक सञ्जाल र अनलाइन गेमहरूको प्रयोगले चुनौतीहरू थपिँदै गएका छन् ।” उनले भने । यस्ता चुनौती सामाना गर्न सामाजिक सञ्जालकै प्रयोग गरी सचेतना प्रवाह, बेचबिखनका प्रभावितको उद्गमस्थल केन्द्रित समुदाय सचेतना, सुरक्षा निकायले सीमामा थप कडाइका लागी समन्वय र अभिभावक भन्दा टाढा बस्ने बालबालिका र युवतीको निगरानी बढाउन आवश्यक रहेकोमा तिमिल्सिनाको जोड् छ ।