© २०२३
पछिल्लो समय स्वरोजगारका नाममा तालिम, गोष्ठी, प्रशिक्षण र अनुशिक्षणको बाढी आएको छ । खास गरी महिलाहरूलाई तालिम दिएर रोजगारीमा जोड्ने भन्दै पालिकाहरूले विभिन्न तालिम र प्रशिक्षण आयोजना गरिरहेका छन् । तालिममार्फत महिलाहरू रोजगारीमा जोडिनु अत्यन्त सकारात्मक र प्रभावकारी हो तर तालिमको दुरुपयोग हुने गरेको गुनासो सर्वत्र सुनिनु राम्रो होइन । एउटै महिलाले मादल बजाउने तालिमदेखि ब्यूटिसियनको तालिमसम्म लिन भ्याएका छन् । सोर्सफोर्स र भनसुन प्रवृत्तिमार्फत एउटैलाई दश थरी तालिममा जोड्ने काम भइरहेको छ । कुन तालिम कस्तो महिलालाई आवश्यक छ भन्ने कुराको हेक्का नराखी गरिने तालिमले उपादेयता दिन सक्दैन । तसर्थ तामिल गर्नुअघि तालिमबाट फाइदा लिन सक्ने, रोजगारीमा जोडिने क्षेत्र हेरेर तालिम आयोजना गर्नु श्रेयष्कर हुन्छ ।
तालिम लिनकै लागि भन्दा पनि तालिमबाट व्यक्ति, समाज र देशलाई के फाइदा भयो ? भन्ने हेक्का राख्नु पनि उत्तिकै जरुरी छ । अहिले पालिकाहरूले आ–आफ्नो क्षेत्रभित्रका बेरोजगार युवा युवतीलाई स्वरोजगार बनाउने भन्दै तालिमको अभियान नै चलाएका छन् । खास गरी रोजगारी तथा आयआर्जनमा महत्त्वपूर्ण हुने ती तालिमले रोजगारीको अवसर बढाउने अपेक्षा गर्नु स्वाभाविक हो । मादल बजाउने तालिमदेखि व्युटिसियन, डल बनाउने तालिम, वेटर वेट्रेस तालिम, धूप बनाउने, अगरबत्ती बनाउने, बत्ती कात्ने लगायत विभिन्न थरी तालिममार्फत महिला तथा पुरुषलाई रोजगारीमा जोड्नु महत्त्वपूर्ण कुरा हो तर तालिम आयोजना हुन्जेल भाग लिने र तालिम सकिएपछि त्यसको सदुपयोग नगर्ने प्रवृत्ति बढ्दो छ । तसर्थ कुन तालिम कसका लागि उपयोगी हुन सक्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।
अर्को कुरा एउटै व्यक्ति पहुँचका आधारमा पालिकामा हुने सबै तालिममा सहभागी हुने गरेको प्रशस्त उदाहरण छ । यो प्रवृत्ति रोक्नु जरुरी छ । तालिममा गएपछि खाना नास्तासँगै भत्ता पनि पाइन्छ भन्ने लोभमा कुनै पनि अवस्थामा तालिम नछोड्ने प्रवृत्ति छ । यो प्रवृत्तिले तालिममा सहभागी हुनेको पहिचान गरी निषेध गर्नु जरुरी छ । एउटा तालिम लिएपछि अर्को तालिममा पनि सहभागी हुनुपर्ने प्रवृत्ति निरुत्साहित गरौँ । पालिकाहरूदेखि विभिन्न सङ्घ संस्थाले पनि तालिम आयोजना गर्दै आएका छन् । अहिले अधिकांश पालिकाहरूले एक सातादेखि तीन महिनाको तालिम दिने गरेका छन् । तालिम कत्तिको उपलब्धिमूलक हुन्छ, त्यो भने भविष्यले नै देखाउँछ ।
विशेष गरी स्थानीय तहमा रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउन तालिम सञ्चालन गर्नु स्वागतयोग्य कुरा हो । त्यसैले सामान्य पढेलेखेकालाई समेत तालिममा सहभागी गराउँदा सीपपछि रोजगारी पाउन सहज हुन्छ । स्थानीय निकायको सहयोगमा तालिमको विषय र प्रशिक्षार्थी छनौट गरिने कुरा पनि उपयोगी नै छ । उता प्रदेश सरकारलाई बलियो बनाउन र त्यहाँ उत्पादन भएका युवालाई आफ्नै प्रदेशमा रोजगारीको व्यवस्था गर्न तालिमले सहयोगी भूमिका निर्वाह गर्ने कुरा निश्चित छ । स्वरोजगार तालिमको योजना कुनै एक पालिका र क्षेत्रभित्र भन्दा पनि ७५३ वटै पालिकाहरूमा दिनु अहिलेको आवश्यकता हो । किनभने सीप नभएकै कारण कतिपय युवाहरूले रोजगारीको अवसर पाएका छैनन् । तसर्थ उमेर पुगेका महिला पुरुष सबैलाई रोजगारीमा जोड्न तालिम दिनु जरुरी छ ।
तालिम लिइसकेपछि उनीहरूले आफ्नै साधन–स्रोतबाट स्वरोजगार बन्न सक्ने अवस्था पनि आउन सक्छ । तालिमपछि उनीहरूले हात बाँधेर बस्नुप¥यो भने सरकारले ठुलो रकम खर्च गरेर दिएको तालिमको के औचित्य ? त्यसैले तालिम दिएर मात्र हुँदैन, त्यसपछि पनि उनीहरूलाई साधन–स्रोत जुटाइदिने र उनीहरूबाट उत्पादित सामानको बजार व्यवस्था सरकारले गरिदिनुपर्छ । ती अभ्यास सफलता उन्मुख भए देश आत्मनिर्भर बन्न सहयोग पुग्छ । अतः तालिमलाई फलदायी बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । तालिम दिएर औपचारिकता पूरा गरिएको अर्थमा मात्रै होइन, तालिमबाट कतिलाई रोजगारीमा जोड्न सफलता प्राप्त भयो भन्ने कुराको अनुगमन जरुरी छ ।