Butwal Today

राप्तीमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण 

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

दाङ, २५ जेठ ।

आशाका किरण संस्था र दारी ग्याङ दाङको संयुक्त आयोजना तथा गुराँस फार्मेसीको प्राविधिक सहयोगमा दाङको राप्ती गाउँपालिका १ भालुवाङमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण गरिएको छ ।  दारी ग्याङ दाङका जिल्ला अध्यक्ष युवराज पोख्रेल का अनुसार कार्यक्रममा १०६ जना स्थानीय तथा आवतजावत गर्ने यात्रुहरूले मधुमेह (डायबिटिज) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण गराएका थिए । परीक्षणका क्रममा २२ जनामा उच्च मधुमेह र २८ जनामा उच्च रक्तचापको अवस्था देखिएको स्वास्थ्य प्राविधिक कृष्ण श्रेष्ठले बताए । प्राविधिक पक्ष सम्हालेका गुराँस फार्मेसीका सञ्चालक कृष्ण श्रेष्ठले प्रारम्भिक अवस्था मै रोगको पहिचान हुनुले दीर्घकालीन जटिलता रोक्न सकिने बताए ।

दारी ग्याङ दाङका अध्यक्ष युवराज पोख्रेलले हालको व्यस्त र अस्वस्थ जीवनशैलीका कारण मधुमेह र उच्च रक्तचापजस्ता दीर्घ रोगहरूमा तीव्र वृद्धि भइरहेको भन्दै यस्ता निःशुल्क परीक्षण कार्यक्रमहरू अत्यन्त उपयोगी भएको धारणा राखे । आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने कार्यमा संस्थाको प्रतिबद्धता कायमै रहेको जनाएका थिए ।

स्वास्थ्य परीक्षणका लागि उपस्थिति जनाउने अधिकांश बासिन्दाहरूले यस्ता कार्यक्रमबाट आफूहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराइरहनु आवश्यकता रहेको औँल्याए। सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको एक दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आशाका किरण संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिएका छन् ।