Butwal Today

पृथ्वीचन्द्रमा डायलसिस सेवा शुरु 

२४ जेष्ठ २०८२, शनिबार
अ+
अ-

नवलपरासी,२४ जेठ ।

जिल्ला स्थित पृथ्वीचन्द्रमा झन्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्षले दुई साता भित्रै आफूले गरेको बाचा अनुसार डायलसिस सेवा शुभारम्भ गराएका छन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरी पठाए पछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गर्दै एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेको र दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका हुन् ।

दुई दिन देखी अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई व्यवस्थित गरी डायलसिस सेवा शुभारम्भ गरिएको छ । ५ वटा बेड राखेर उक्त  सेवा सुचारु गरिएको उनले जानकारी गराए । दुई दिन देखी बिरामी सम्पर्कमा आउँदै सेवा लिन थालेका छन्, चार जना बिरामीको सफल डायलसिस भएको छ, उनले डायलसिस सेवा कक्षको अवलोकन गर्दै भने, तत्काल सेवा अस्पतालकै खर्चमा सञ्चालनमा आएको छ । बिरामीहरूले अन्य अस्पतालमा सेवा लिँदै आएका थिए । तर ती अस्पतालबाट रेकर्ड सारेर आएको छैन ।

त्यो भएर सरकारले प्रदान गर्ने डायलसिस सेवा बापतको रकम उपलब्ध गराउदैन् । तर बिरामीको माग अनुसार नै सेवा सुचारु गरी सकिएको छ । डायलसिस सेवाले जनशक्तिको थप आवश्यकता महसुस हुन थालेको बताउँदै उनले सबै डिजिटलाईज हुन थाले पछि अस्पतालमा अब बायोटेक्निसियन कर्मचारीको समेत आवश्यकता देखिएको छ । त्यसका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग पनि पहल गर्ने उनले बताए । अन्य सहायक स्तरको स्वास्थ्यकर्मीका लागि स्थानीय सरकारका प्रमुखहरूसँग पनि पहल र छलफल गर्ने उनको भनाई थियो ।

सरकारले डाईलसिस गराउने बिरामीलाई निःशुल्क सेवा दिन स्थानीय स्तरमै उपकरण र जनशक्ति पठाई सकेको तर उपकरण मेसिन जडान नगरी त्यसै राखिएको अवस्थामा फेला परेको कुरा केही महिना पहिला आएको महालेखा परीक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्बिर सहित नै उल्लेख गरेको थियो । अस्पतालमा झन्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरी थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरू पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका थिए । जिल्लामा दुई दर्जन बढी बिरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका बिरामीलाई राहत हुने भएको छ ।

अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरीय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानीयले गरेका छन् । विगतमा पनि उनी २ वर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झन्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उक्त भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुँदै आएको भए पनि सो भवनको उद्घाटन भने हुन सकेको छैन । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उद्घाटन पनि गराउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । त्यसको साथ साथै आन्तरिक व्यवस्थापनमा समस्या व्यवस्थापन गर्दै अगाडी बढ्ने उनको भनाई थियो ।

त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको अपेक्षा समेत राखेका थिए । अस्पतालका कर्मचारी,चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढ्ने समेत उनले सुनाएका थिए । अझ पनि अस्पतालमा आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सीमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अप्रेसन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले सामान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भई रहेको छ ।

व्यवस्थापकीय अभावले सर्जिकल सेवा हुन सकेको छैन । त्यसै गरी सघन उपचार कक्ष(आईसियु) को व्यवस्थापन पनि कमजोर हुँदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन । अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा बिरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परीक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लागि विभाग बनाउने योजना ल्याएको थियो ।

अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रक्तचाप लगायतका विरामीलाई औषधी चलाउँदा आँखामा समेत असर पर्ने हुँदा त्यसको समेत नियमित परीक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल व्यवस्थापनले जानकारी गराएको हो । सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशक्ति पनि राखी सकेको हुँदा अस्पतालको सेवाको गुणस्तरीयतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाई थियो । पहिला विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिँदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुँदा भिडियो एक्स-रे गर्ने र विश्लेषण गरी रिपोर्ट दिने अवस्था नहुँदा उपचारमा केही समस्या भएपछि अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितिले सेवासँगै गुणस्तरीय सेवा बिरामीले पाउन थालेको अस्पतालले जनाएको छ ।