Butwal Today

थारु समुदायमा फैलिंदै सिकलसेलः विवाह गर्दा रगत परीक्षण अनिवार्य

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

दाङ, २३ जेठ ।

दाङका एकजना २६ वर्षका थारु समुदायका युवा जोर्नी दुखेर अस्पताल पुगे । उनको स्वास्थ्य परीक्षण गर्दा पहिले केही देखिएन । जोर्नी दुखाईको औषधीले रोग निको भएन । रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखियो । उनले अहिले औषधी सेवन गरिरहेका छन् ।

बर्दियाका एकजना २३ वर्षका चौधरी समुदायकी किशोरी पेट दुखेर अस्पताल पुगिन्, उनको रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखियो । लक्षण फरक फरक भएपछि रोग एकै प्रकारको देखिने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा. रविन गौतमले बताए । “दाङमा यो रोगका विरामी थपिदै गएको अवस्था छ”–उनले भने, “यो रोग खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा वा आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ । यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ ।”

वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।

किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ । आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ । डा. गौतमका अनुसार सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । उनीहरुलाई नियमित रगत चढाउनुपर्ने हुन्छ ।

यो रोगमा धेरै किसिमका लक्षण हुने गर्छ कसैलाई हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ र धेरै पीडा हुन्छ । सकैलाई जण्डिस पनि देखा पर्छ, पेट दुख्छ ।

दाङका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । हेमोग्लोबोनोप्याथी सम्बन्धी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुसंग पैरवी गरेर नागरिकलाई सचेत गराउन खोजिएको छ । सिकलसेल भएका युवा युवतीहरुको विवाह गर्दा कुन्डली हेरे जस्तै रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव दिइदै आएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिए ।

प्रमुख आचार्यले लुम्बिनी प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको यो रोगका विषयमा समुदायमा चेताना फैलाउने र सेवाको पहुँच भन्दा बाहिर रहेको समुदायमा काम गर्नुपर्ने बताए । दाङको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क परीक्षण भैरहेको छ । स्वास्थ्य कार्यालयले सिकलसेलका बिरामीको परिवारको निशुल्क बिमा गर्ने गरेको उनले बताए । “परिवारमा एकजना मात्रै बिरामी छ भने परिवार सबैको निःशुल्क बिमा हुन्छ”–उनले भने , “थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।”

राप्ती प्रादेशक अस्पतालका फिजिसियन डा. जीतनारायण यादवले सिकलसेलका लागि सबैले आफ्नो तर्फबाट काम गर्नुपर्ने बताए । जनस्वास्थ्य समस्याको रुपमा रहेको यो रोगले बंशाणुगतरुपमा सर्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । समयमा रोगको पहिचान र निदान गर्नुपर्ने उनको धारणा छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो रोग देखिएको छ । लुम्बिनीका दाङ, कपिलबस्तु, बाँके र बर्दियामा बिरामीको संख्या धेरै रहेको उनले बताए ।

स्वास्थ कार्यालय बाँकेका प्रमुख, नरेशबाबु श्रेष्ठले सिकलसेल रोग जनस्वास्थ्य समस्याको रुपमा रहेकाले सरकारले काम सुरु गरेको बताए । आधारभूत स्वास्थ सेवा भित्र यो सेवा दिने भएकाले निशुल्क औषधी पाइने गरेको बताए । एकै किसिमको लक्षण नहुने भएकाले आफूमा यो रोग छ की छैन भन्ने पत्ता लगाउन परीक्षण गर्न सल्लाह दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?