© 2026
सुनवल, जेठ २३ ।
पश्चिम नवलपरासीको सुनवलमा आज बिहान एक युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका वडा नम्बर दुई अवरहियाका खेमराज थारुले आफ्नै बाबु ५० वर्षीय जयराम थारुको हत्या गरेका हुन् । बाबुको हत्या पछि उनले छिमेकी ७० वर्षीय वृद्ध नाथु धरिकारको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिए । उनले कोदालो प्रहार गरी बीभत्स रूपमा बाबुको हत्या गरेपछि सोही कोदालोले छिमेकीको समेत हत्या गरेका हुन् ।
घटनाको विषयमा बुझन जाने क्रममा छिमेकी धरिकारलाई समेत उनले कोदालो प्रहार गरेका थिए । कोदालो बोकेर स्थानीयलाई आतङ्कित बनाइरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी आन्तरिक विवादको क्रममा हत्याको घटना भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।