© २०२३
चन्द्रौटा, २२ जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिका–३, नयाँ बस्तीका अर्णलाल उपाध्याय शनिबार निकै उत्साहित देखिन्थे । उनको उत्साहको कारण थियो, हातको कृषि औजार । मकै किसान रहेका उपाध्याय पुश्रो सिडर (मकै छर्ने मेशिन) प्राप्त गरेपछि निकै खुसी देखिन्थे । खुसी व्यक्त गर्दै उनले भने-“विगत ७ वर्षदेखि मकै खेती गर्दै आएको थिएँ । पुरानो प्रविधिबाट मकै खेती गर्दै आएको थियौँ, त्यसबाट उत्पादन कम हुने, मल छर्न असुविधा हुन्थ्यो । भाडा ल्याएर काम गर्दा खर्चिलो समेत हुने गर्दथ्यो ।”
किसान उपाध्यायले थपे-“मेशिनले काम गर्दा सहज र उत्पादनमा वृद्धि भयो, अहिले नगरपालिकाबाट अनुदानमा आफै उपकरण पाउँदा खुसी लागेको छ । अब यो मेशिनले मकै खेतीयोग्य क्षेत्रफल र उत्पादन दुबैमा वृद्धि हुन्छ । हाम्रो समय र श्रमको बचत हुन्छ । उत्पादन पनि राम्रो हुने आशा छ ।”
शिवराज नगरपालिकाका मकै खेतीका किसानहरू कृषि उपकरण पाएपछि उत्साहित भएका छन् । मकै पोकेट क्षेत्रको रूपमा चिनिएको भए पनि विकास हुन सकेको थिएन । मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको ५० प्रतिशत अनुदानमा वडा नम्बर १, ३ र ११ किसानहरू उपकरण पाएपछि उत्साहित भएका हुन् । पालिकाको अनुदानमा कृषि उपकरण पाएर दर्जनौँ किसानहरू हर्षित छन् ।
यस्तै वडा नम्बर–११, सेमरीका अर्का किसान जगनारायण यादवले २ कट्ठामा मकै खेती गर्दै आएको बताए । यो सिजनमा ४ कट्ठामा गरेको मकै खेतीबाट मात्र ३८ हजारको आम्दानी गरेको उनले बताए । उनी नगरपालिकाको अनुदानबाट डेलिभरी पाइप र डिजिटल ब्यालेन्स (तराजु) पाउँदा हर्ष व्यक्त गरे । उनले भने- “विगतमा मकै खेती गरे पनि व्यवसायिक रूपमा गर्न सकेका थिएनौँ । तर स्थानीय सरकारले अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेपछि घरपरिवार चलाउन सहज भएको छ ।”
मकै छर्ने मेशिन, मल छर्ने यन्त्र स्प्रे ट्याङ्की, कर्न सेलर, डिजिटल ब्यालेन्स, मिनिटिलर, पुश्रो सिडर, डेलिभरी पाइप, पम्पे सेट र मोटर लगायतका उपकरणहरू २८ जना किसानहरूले प्राप्त गरेका छन् । यता कृषि शाखा विकास शाखा तारा चन्द चौधरीले यस्ता प्रविधिको प्रयोगले लागत घटाउने, उत्पादन बढाउने र युवालाई समेत कृषि पेसातर्फ आकर्षित गर्ने अपेक्षा रहेको उनको भनाई छ ।
३ नम्बरका वडा अध्यक्ष टेकलाल सापकोटाले उपकरण वितरण कार्यक्रममा भने, “हामी आधुनिक कृषि प्रणालीलाई आत्मसात् गर्दै किसानहरूको आय वृद्धि र खाद्य सुरक्षामा टेवा पु¥याउन चाहन्छौँ ।” नगरपालिकाले आधुनिक कृषि प्रविधिको प्रवर्द्धनमार्फत उत्पादनमा वृद्धि, लागतमा कमी र युवाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ । स्थानीय सरकारको यो पहलले मकै खेतीमा यान्त्रिकीकरण भई कृषकहरूको जीवनस्तरमा सुधार आउने वडा अध्यक्ष सापकोटाले बताए । यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले नगरपालिकाले कृषि लक्षित उत्पादनमुखी योजना अघि सारेको बताइन् ।
उत्पादनमुखी कार्यक्रम अन्तर्गत मकै प्रवर्द्धन मुख्य रहेको बताउँदै व्यवस्थित तरिकाले यो खेती गरे मनग्ये आम्दानी गर्न सक्ने उनले जिकिर गरिन् । उनले भनिन्-“इच्छा शक्ति हुनुपर्छ, पालिकाले पनि प्रभावकारी आम्दानी गर्न सक्ने योजना ल्याएको छ ।” शिवराज नगरपालिकामा मकै पोकेट क्षेत्रका रूपमा विकास गर्ने योजना भए पनि परम्परागत विधिमा निर्भरता र कामदार अभावका कारण उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको थिएन । अब भने शिवराज नगरपालिकामा मकै बाली पर्वद्धनका कार्यक्रम ल्याएपछि मकै खेती विकास गर्न यस्ता उपकरणहरूको प्रयोगले उत्पादनमा उल्लेख्य वृद्धि हुने किसानहरूको विश्वास बढेको उनीहरू बताउँछन् ।