© २०२३
सल्यान, २२ जेठ ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि सल्यानको कपुर कोटमा विश्व वातावरण दिवस मनाइएको छ । “प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व” भन्ने मूल नाराका साथ स्थानीय तह, सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय र जनसमुदायको सहभागितामा बिहीबार विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।
कपुरकोटको तल्लो बजारको प्रवेशद्वार नजिकै कपुरको बिरुवा रोपण गरेर कार्यक्रमको सुरुवात भएको थियो । यस्तै बिहान ७ बजे सुरु भएको सरसफाइ कार्यक्रम बजारका विभिन्न क्षेत्र हुँदै मूल पानी बजारसम्म पुगेर बिहान ९ बजे सम्पन्न भएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले जानकारी दिए ।

कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल र वडा नं. ३ का वडाध्यक्ष प्रदीप खड्काले कपुरका बिरुवा रोपेर वृक्षारोपण अभियानको सुरुवात गरेका थिए ।
कार्यक्रमको समापन अवसरमा कपुरकोट सब डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मुकुन्द पौडेलले उपस्थित सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै वातावरण संरक्षणमा सामूहिक सहभागिता र निरन्तरता आवश्यक रहेकोमा जोड दिएका थिए ।
यस अवसरमा विगत पाँच वर्षदेखि निरन्तर हुँदै आएको सरसफाइ तथा वृक्षारोपण अभियानको पनि समीक्षा पनि गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. पाठकले जानकारी दिए । वनस्पति अनुसन्धान केन्द्र सल्यानको अगुवाइमा यस अभियानले बर्सेनि स्थानीय जनचेतना र वातावरण संरक्षणमा महत्त्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।
गत वर्ष कपुरकोट गाउँपालिकाको व्यवस्थापन, वनस्पति अनुसन्धान केन्द्रको समन्वय र सामुदायिक वन तथा अन्य संस्थाहरूको सहयोगमा कपुरकोट प्रवेशद्वारदेखि ट्राफिक चोक, वनस्पति उद्यान हुँदै मूल पानी बजारसम्म करिब ४ किलोमिटर क्षेत्रफलमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात लगायतका बिरुवाहरू प्लान्ट गार्डसहित रोपेर “ग्रिन बेल्ट जोन” निर्माण गरिएको थियो ।