© २०२३
रामपुर, २२ जेठ ।
नमस्ते रामपुर यातायात प्रालिले एसीसहितको सुविधा सम्पन्न कालीगण्डकी बस सेवा सञ्चालनमा ल्याएको छ । लामो दुरीको यात्रा गर्ने यात्रुलाई मध्यनजर गर्दै रामपुर काठमाडौँका लागि आजबाट सुविधा सम्पन्न एसीसहितको बस सेवा सञ्चालन गरेको हो । रामपुर बसपार्कमा यात्रु तथा बस चालक, सह–चालकलाई टिका र खादा लगाएर नयाँ बस सेवाको शुभारम्भ गर्दै सुखद यात्राको कामना गरेको नमस्ते रामपुर यातायात प्रणालीले जनाएको छ । चालक रामप्रसाद थापाको नेतृत्वमा नमस्ते रामपुर यातायात प्रणालीले काली गण्डकी एसीसहितको सुविधा सम्पन्न बस रामपुरबाट यात्रु लिएर काठमाडौँ प्रस्थान गरेको हो ।
नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेल, प्रालीका सञ्चालक समिति, कर्मचारी लगायतले टिका, खादा लगाएर नयाँ बस सेवाको शुभारम्भ गरेका हुन् । कालीगण्डकीवेशी क्षेत्रका नागरिकलाई सुलभ रूपमा आरामदायी सेवा दिने उद्देश्यले नमस्ते रामपुर यातायात प्रणालीले सुबिधा सम्पन्न बस सेवाको सुरुवात गरेको अध्यक्ष पोखरेलले बताए ।
“प्राली मार्फत हाललाई काली गण्डकी नामक एसीसहितको तीन वटा बस सञ्चालनमा ल्याएका छौँ” अध्यक्ष पोखरेलले भने,– “यस क्षेत्रका यात्रु महानुभावलाई मध्यनजर गर्दै यात्रुको आवश्यकता र माग अनुसार अन्य बस सेवा पनि क्रमिक रूपमा थप गर्दै जानेछौँ, हाम्रो सेवा नै यात्रुलाई राम्रोसँग सेवा दिनु हो” ।
नयाँ बसमा फ्रि वाईफाई, सिसि क्यामेरा लगायतका विभिन्न अत्याधुनिक सेवा सुविधा रहेको छ । प्रणालीले ल्याएको तीन वटा बस रामपुर काठमाडौँका लागि दिवा सेवाका रूपमा सञ्चालन हुनेछन् । पहिलो दिन काली गण्डकी कोरिडोर सडक मार्ग हुँदै नारायण घाट देखि काठमाडौँका लागि नयाँ बस सेवा सुरु गरेको नमस्ते रामपुर यातायात प्रालीका व्यवस्थापक भेषराज पोखरेलले जानकारी दिनुभयो । नयाँ बसमा यात्रा गर्न पाउँदा यात्रुहरू खुसी मुद्रामा देखिन्थे ।