काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि घटेको छ। अघिल्ला दुई दिन ओरालो लागेको नेप्सेले बिहीबार पनि त्यही गिरावटलाई निरन्तरता दिँदै ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा आएको छ।

यो दिन बजारमा कुल ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। केही कम्पनीका सेयरमा भने सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ।
यसै दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ, जसको सेयरमा ९१ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको ६४ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको ४९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये जलविद्युत र अन्य एउटा उपसमूहबाहेक ११ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूह १.१३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह १.०४ प्रतिशतले घटेर सबैभन्दा बढी घट्ने उपसमूह बनेको छ।
बजारमा उतारचढाव जारी रहे पनि केही कम्पनीका सेयरमा सक्रियता देखिएको छ भने लगानीकर्ताहरू बजार स्थिरताको प्रतीक्षामा देखिन्छन्।



