© २०२३
‘प्लास्टिकजन्य प्रदूषण समाप्त गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । प्लास्टिक प्रदूषणविरुद्ध एकजुट हुन आग्रह गर्दै मनाउन लागिएको यो दिवसले स्वच्छ वातावरणका लागि प्लास्टिकजन्य प्रदूषण कति हानिकारक छ भन्ने पुष्टि गरेको छ । निश्चित रूपमा प्लास्टिकजन्य प्रदूषण मानव सभ्यताका लागि चुनौती बन्दै गएको छ । प्लास्टिकको प्रयोग गर्ने तर विसर्जनमा ध्यान नदिने गर्दा नै आज प्लास्टिकजन्य फोहर हामी सवैका लागि बोझ बनिरहेको छ । बोझ मात्रै होइन यसले दिर्घकालीन रूपमा वातावरणमा असर पु¥याएको छ । अर्कोतर्फ विश्व भरी नै वातावरण दिवस मनाउँदै गर्दा आज विश्वका लागि प्लास्टिकका साथै अन्य फोहरजन्य प्रदूषण मानव जीवनका लागि घातक भइरहेका छन् ।
नेपालमा मात्रै होइन विश्वमै पछिल्लो समय प्लास्टिकजन्य फोहरको ठुलो समस्या छ । व्यापारिक, औद्योगिक र घरायसी प्रयोगका सामग्रीको रूपमा जताततै पोलिथिन झोला र अन्य प्लास्टिकजन्य सामग्रीहरू प्रयोग गर्ने गरिएको छ । तर, ती बस्तुको विसर्जन सोही अनुसार नगर्दा ठुलो समस्या उत्पन्न हुने गरेको छ । बढ्दो जनसङ्ख्या र विलासी जीवनशैलीसँगै फोहरमा प्लास्टिकको मात्रा निरन्तर बढिरहेको छ । सहरका ढलहरू पोलिथिन फोहरहरूले भरिँदा सडकमै ढल बग्ने गरेको देखिन्छ । उदाहरण बुटवलका गल्लीहरूमा पानी आउँदा ढलहरूमा देखिने प्लास्टिकका फोहोर काफी छन् । प्लास्टिकले गर्दा कृषि उत्पादनमा समेत असर पुगेको छ । सिँचाइका लागि प्रयोग हुने कुलो सरसफाइ र मर्मत गर्न कठिन हुँदै गएको छ । खोलामा पोलिथिन फोहरको मात्रा बढेकोले खोलाहरू पुरिने र बहाव मार्ग परिवर्तन हुने क्रम जताततै बढिरहेको छ । राजमार्ग किनारका वन क्षेत्रमा प्लास्टिक झोला र थैलाजन्य फोहर जताततै छरिएको देखिँदा नेपालीहरूको स्वभावलाई गिज्याइरहेको भान हुन्छ ।
वनमा छरिएको प्लास्टिकले गर्दा वनस्पतिको वृद्धि र विस्तारमा प्रतिकुल असर परेको मात्र छैन, पोलिथिन झोला र थैलाभित्र रहने केही खानेकुराको लोभमा प्लास्टिक समेत खान पुग्दा वन्यजन्तु र वनमा चर्ने घरपालुवा पशु चौपायाहरू मरेका खबरहरू बारम्बार आइरहेका छन् । निश्चित रूपमा प्लास्टिकजन्य फोहरका कारण मानव सभ्यतामाथि चुनौती थपिएको छ । मानव जीवन र प्रकृति बिच असन्तुलन बढ्दो छ । त्यसमाथि बढ्दो औद्योगीकरण र विलासिताका सामग्रीसहित यातायातजन्य सवारी साधनको अत्यधिक प्रयोग, तीव्र रूपमा भइरहेको वन फडानी, वायुमण्डलमा कार्बन डाइअक्साइडको अस्वाभाविक वृद्धि, हरित गृह प्रभावमा नकारात्मक असर, रक्षाकवचका रूपमा रहेको ओजोन तह पातलिएर प्वाल पर्ने क्रम जारी, तीव्र उष्वीकरण, जैविक विविधतामा अत्यधिक ह्रास लगायतका कारण पर्यावरणीय असन्तुलन बढ्दै गएको छ ।
अर्को चुनौतीको कुरा के छ भने विश्वभर तापमान बढिरहँदा हिमताल फुट्ने खतरा पनि बढिरहेको छ । वातावरण विनाशको सबैभन्दा ठुलो चुनौती हिमताल माथि परिरहेको छ । हिमताल फुट्यो भने त्यसले गम्भीर वातावरण र मानवीय सङ्कट उत्पन्न हुनेछ । अहिले सबैको चासो र चिन्ताको विषय बढ्दो तापमान कसरी घटाउने भन्ने नै हो । निश्चित रूपमा हिमताल फुट्यो भने नेपालमा मात्रै होइन, त्यसको असर विश्वभरि पर्नेछ । त्यसै कारण विश्वले गम्भीर समस्या भोग्नुपर्नेछ । जथाभाबी विषादीको कारण विश्वबाट कयौँ प्रजातिका जङ्गली जनावर नै लोप भएका छन् । औद्योगिक प्रदूषणले ओजोन तह विनाश भएको छ । त्यसकै कारण लाखौँ मानिस र जीवजन्तु र अन्नबाली प्रभावित भएको छ ।
पानीका स्रोतहरू सुक्दै गइरहेका छन् । अतः विश्व वातावरण दिवसको यो पावन अवसरमा हामी सबैको ध्यान दिवसको नाराले भनेजस्तै प्लास्टिकजन्य प्रदूषणको अन्त्य गरौँ भन्ने कुरा व्यवहारमै लागू गरौँ । हरेक वर्ष जुन ५ मा यसै गरी विश्व वातावरण दिवस आउँछ । यसलाई नियमित आकस्मिकताको अर्थमा मात्रै नबुझी दिवसको सन्देशलाई हामीले व्यवहारमा परिणत गर्ने प्रयत्न ग¥यौं भने मात्रै दिवस मनाउनुको सार्थकता रहन्छ । दिवसलाई औपचारिकतामा भन्दा पनि त्यसको सार्थकता हरेकले आफूमा समाहित गर्ने प्रयत्न गरौँ । यसैमा हामी सबैको कल्याण निहित छ ।