© २०२३
बुटवल, २२ जेठ ।
रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यावसायिक घरना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो । भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पुजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए ।
९ महिना भित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले जानकारी दिए । नेपाली बजारका साथै उरोपेली मुलुक तथा अमेरिकामा तयारी पोसाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २ सय बढीले रोजगार प्राप्त गर्ने बताउँदै उनले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गरे । उद्योग निर्माणको कामसँगै त्यहाँ आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम समेत एकसाथ सञ्चालन भइरहेको जानकारी गराउँदै उनले नेपालको अर्थतन्त्रमा सानै भए पनि योगदान गर्न सकिने अपेक्षा व्यक्त गरे ।
उनले भाटभटेनीका स्टोरहरूमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्याउनले लक्ष्य राखिएको जानकारी गराए । “हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौँ,” उनले भने, “स्थानीय बजारमा पनि पठाउँछौँ । उद्योगका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने योजना रहेको बताउँदै उनले भने “कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठुला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दछौँ ।”सेज भित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि रहेका छन् ।
सेज भित्र स्थापना हुने उद्योगहरूलाई सरकारले विशेष सुविधाहरू उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण बिस्तारै बन्दै गएको उल्लेख गरे । भाटभटेनीका अहिले देशभर २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । त्यसबाहेक होटेल, हाइड्रोमा पनि लगानी रहेको छ । भैरहवा सेज भित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरूका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए ।