© २०२३
बर्दघाट, २२ जेष्ठ ।
राष्ट्रिय सरसफाइ सप्ताह २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा सुरक्षित सरसफाइमा समावेशिता हाम्रो प्रतिबद्धता, प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भन्ने मूल नारासहित २६ औँ सरसफाइ दिवस र विश्व वातावरण दिवस बर्दघाटमा मनाइएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको को आयोजनामा विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वातावरण संरक्षणमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख र संस्थाका पूर्व अध्यक्ष धिरज शर्मा बस्यालले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जस्ता विपद् आउने क्रम बढिरहेको बताउँदै वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
वृक्ष रोपेर मात्र पुग्दैन, रोपिएका बिरुवाहरूको संरक्षण पनि अनिवार्य छ, यस्तै सरसफाइको क्षेत्रमा पनि हरेक घर र व्यक्तिले मेरो क्षेत्रमा फोहोर गर्नु हुँदैन सफाइ म बाटै सुरु गर्नु पर्छ भन्ने दृढ सँकल्प गरेमा सरसफाइ स्वतः हुन्छ बस्यालले भने । नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले वातावरण संरक्षणका कार्यहरू व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै, बर्दघाट नगरपालिकाले भौतिक योजना बजेटको दुई प्रतिशत रकम वातावरण संरक्षणमा विनियोजन गर्ने योजना अघि सारेको जानकारी दिए ।
कार्यक्रममा बर्दघाट–४ का वडा अध्यक्ष बेदबिना तिवारीले वातावरणको शंरक्षणका लागी वृक्षारोपण गर्दै सिमसार क्षेत्रको विकास एव बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यपालिका सदस्य गोबिन्द वि क र मन्जु चालिसे, संस्थाका निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पूर्व अध्यक्ष सिद्धिबिलास हमाल, जिल्ला खानेपानी महासङ्घका जिल्ला अध्यक्ष देवीदत्त सापकोटा, पारिजात सामुदायिक वनका उपाध्यक्ष राजबहादुर पाण्डे, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम, र बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले समेत आफ्ना धारणा राख्दै वातावरण संरक्षणमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल थापाले जलवायु परिवर्तनका असरहरू गम्भीर बन्दै गएको उल्लेख गर्दै हिमताल फुट्ने घटनाले ठुलो विपद् निम्त्याउन सक्ने खतरा औँल्याएका थिए । संस्थाका अध्यक्ष दिपक लम्सालले वातावरणको शंरक्षणका लागि बर्दघाट खाने पानीले सप्ताह व्यापी कार्यक्रम गरेको उल्लेख गरेका थिए ।
संस्थाले नियमित रूपमा वृक्षारोपण र सरसफाइका कार्यक्रम गर्दै आएको र रोपिएका बिरुवा हुर्काए मात्र कार्यक्रमले सार्थकता पाउने संस्थाका सचिव शोभाकान्त कोइरालाले बताए । संस्थाले वातावरण दिवसको अवसर पारेर खानेपानी कार्यालय परिसरमा विभिन्न प्रजातिका करिब ७० बिरुवा रोपिएको र सप्ताहव्यापी कार्यक्रम अन्तरगत मुहान सरसफाइ र थप क्षेत्रमा वृक्षारोपण कार्यक्रम समेत राखिएको व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।