© २०२३
काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष तीन प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने भएकाले विपद् बढ्ने जोखिम रहेको बताएका छन् ।
उनले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको छलफलमा गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने जानकारी दिँदै पूर्वतयारीमा जुट्नुपर्ने बताएका हुन् ।
वर्षात्को पूर्वसन्ध्यामा देशभर रहेको सडक सञ्जाल सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन सरकारको पूर्वतयारी सम्बन्धमा मंगलबार समितिको बैठकमा छलफल गर्ने कार्यसूची थियो । छलफलका क्रममा उनले यी क्षेत्रमा सरदरभन्दा बढी पानी पर्ने भएकाले पूर्व सावधानी अपनाउनुपर्ने बताएका हुन् ।
‘यो क्षेत्रमा सरदरभन्दा पानी पर्ने सम्भावना ५५–६५ प्रतिशत छ,’ उनले भने,‘ मनसुन भित्रिएपछि १०/१५ दिन पानी पर्छ । फेरी रोकिन्छ र फेरि पर्छ ।’
जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मनसुन आउने भनिए पनि १०/१५ दिन अघि–पछि आउन सक्छ । शुक्रबारसम्म मनसुन आउने देखिँदैन । मनसुन सुरु हुन नपाउँदा नै क्षति हुने गरेकाले सतर्क रहनुपर्ने उनको तर्क छ ।
उनका अनुसार २०८१ सालमा नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने आकलन गरिएको थियो । १४९८.४ मिलिमिटर नेपालको सरदर वर्षा हो । तर २०८१ मा १६९१.३ मिलिमिटर वर्षा भयो । सरदर भनेको १०० मा ९०–११० मिमिसम्म हुनु हो । र १११ भन्दा माथि वर्षा हुनु भनेको सरदरभन्दा बढी मानिन्छ ।
विपद्को पूर्वसूचना बेवास्ता गर्दा क्षति
गत असोजमा सरकारले वर्षाको पूर्वानुमान गरी सचेत हुन भनेको थियो । तर बेवास्ता र सबैमा सूचनाको पहुँच नपुग्दा ठुलो क्षति भएको र काठमाडौँलगायत आसपास क्षेत्रमा बढी क्षति भएको जोशीले बताए ।
‘पोहोर साल बढी पानी पर्यो, कञ्चनपुरमा असार २३/२४ गते सरदरभन्दा बढी पानी पर्यो । यस विषयमा हामीले पूर्वानुमान गरेका थियौँ । ६२४ मिलिमिटर पानी परेर रेकर्ड ब्रेक हुँदा पनि मानवीय क्षति भएन,’ उनले भने, ‘गत असोजको वर्षा पूर्वानुमान गरेअनुसार परेको हो ।’
नेपाल विश्व मौसम संगठनको सदस्यता भएदेखि मौसम पूर्वानुमान गर्दै आएको छ । यसअन्तर्गत दक्षिण एशियाली राष्ट्रमा मौसम कस्तो हुन्छ भनेर आकलन गरिन्छ भने नेपालमा जल तथा मौसम विज्ञान विभागले करिब ३० वर्षको मौसम आकलन गरेर अनुमान गर्दै आएको उनको भनाइ छ ।
‘गत असोजको दोस्रो साता बागमती प्रदेशमा तीन दिन पर्ने पानी एकैदिन पर्यो । यसरी वर्षा हुँदा विपद्का घटना बढ्छन्,’ उनले भने, ‘अस्ति वैशाख अन्तिम साता काभे्रको पनौतीमा ३९/४० मिमि पानी परेको थियो । सरदरभन्दा कम पानी परे पनि क्षति हुने सम्भावना हुन्छ ।’
विभागले मौसमबाट हुने विपद् न्यूनीकरणका लागि समयमै पूर्वसूचना दिँदै आएको छ, तर प्राविधिक समस्याका कारण समयमा सूचना नपुग्ने गरेको गुनासो पनि उनले गरे ।
मौसम पूर्वानुमानको अवस्थाबारे जानकारीपछि सांसदहरूले सडक मर्मत र सुरक्षाका लागि मन्त्रालयले केकस्तो तयारी गरिरहेको छ भन्दै प्रश्न उठाएका छन् ।
सांसद मैना कार्कीले सरदरभन्दा बढी वर्षा हुने पूर्वाअनुमान रहेको हुनाले कर्णाली प्रदेशमा सडक सुरक्षा तथा मर्मतको लागि के कस्तो तयारी भइरहेको छ भन्ने प्रश्न गरिन् । ‘कर्णाली विकासबाट पछाडी परेको, भूकम्पले पीडित छ र यस क्षेत्रमा सरदरभन्दा बढी वर्षा भयो भने कस्तो अवस्थामा पुग्ला ?’ उनले प्रश्न गरिन्, ‘सरकारले सडक सुरक्षाबारे कस्तो तयारी गरेको छ ?’
सांसद माधव सापकोटाले गत असोजको बाढीले क्षति पुगेका सडक तथा पुल वर्षाको समयमा सहज रूपमा सडक सञ्चालन गर्न के कस्तो तयारी रहेको छ भन्ने प्रश्न उठाए । साथै उनले बाढीले झोलुंगे पुलमा क्षति पुगेको र त्यसको मर्मतमा सरकारको ध्यान नपुगेको तर्क गरे । ‘झोलुङ्गे पुल ग्रामीण क्षेत्रमा आवतजावतका लागि महत्त्वपूर्ण छ । यसको मर्मतमा पनि सरकारको ध्यान जावस् ।’
सांसद बिना लामाले धादिङ जिल्लामा पर्ने राजमार्ग र स्थानीय सडकमा बर्सेनि पहिरो गएर मानवीय क्षति भएको बारे तर्क गरिन् ।
‘धादिङको झार्लाङ भन्ने ठाउँमा हरेक वर्ष पहिरो जाँदा ठुलो मानवीय क्षति हुने गरेको छ,’ उनले प्रश्न गरिन्, ‘यो पहिरो दक्षिण एसियाको पहिला वा दोस्रो नम्बरमा आउँछ । यस पहिरो नियन्त्रणका लागि कस्तो पहल गरेको छ ? गत असोजमा राजमार्गमा पुगेको क्षतिलाई मन्त्रले के कसरी मर्मत गरेको छ ?’
यस्तै सांसद प्रकाश ज्वालाले गत असोजमा विपद् आउँदा सडक पुलमा ठुलो क्षति पुगेको बताए । साथै मौसम विभागले गरेको पूर्वानुमानअनुसार जहाँ बढी क्षति हुने सम्भावना छ त्यहाँ पूर्वतयारी गर्नुपर्ने बताए ।
‘विपद् बाजा बजाएर आउँदैन भन्छन्, पोहोर साल बाजा बजाएर विपद आयो । थाहा पाउँदा पाउँदै हामीले विस्वास गरेनौँ । मान्छे मरेपछि सचेत हुनेभन्दा भन्दा पूर्व सावधानी अपनाउनेतिर लाग्नु पर्छ,’ उनले भने, ‘आगामी दिनमा कहाँ धेरै वर्षा हुन्छ त्यता सचेत हुने कि नहुने ? वर्षा सुरु हुनुभन्दा पहिले सडक तथा पुलको सुरक्षाका सन्दर्भमा सरकारले पूर्वतयारी गर्नुपर्छ ।’
यस्तै भूकम्पबाट क्षति भएका स्थानीय सडकमा सरकारको ध्यान नगएको उनले बताए ।
यस्तो छ पूर्वतयारी
सडक विभाग महानिर्देशक विजय जैसीले विपदका लागि विभाग पूर्वतयारीमा सधैँ रहिरहेको बताए ।
देशभर १४ हजार २१३ किलोमिटर सडक पुगेको र त्यसमध्ये अधिकांश सडक विपद्बाट क्षति पुगेर मर्मत सम्भार भइरहेको बताए । ‘सबैभन्दा महत्त्वपूर्ण बीपी राजमार्ग छ । यो राजमार्ग १८ ठाउँमा क्षति पुगेको छ । यसको मर्मतका लागि काम गरेका छौँ । पोहोरको लेबलको बाढी आयो भने त थेग्दैन । यस राजमार्गमा पूर्वतयारीका काम गरिरहेका छौँ,’ उनले भने, ‘यसलाई पुनर्निर्माणका लागि तीन वटा ठेक्का लागिसकेको छ एउटा करिब ५ किलोमिटर लाग्ने क्रममा छ ।’
उनका अनुसार अरनिको राजमार्गमा १२ स्थानमा, चित्लाङ ३/४ ठाउँमा, महाकाली पुलको मर्मतका लागि कामहरू गरेको बताए ।
यस्तै नागढुङ्गा–मुग्लिन सडकअन्तर्गत गत असोजमा आएको बाढीले क्षति पुगेको झ्याप्ले खोला र कृष्णभिर लगायतमा विभिन्न फेजमा बाँडेर मर्मतका काम भइरहेको छ । मुग्लिन–नारायणगढ सडकमा समस्या भएको हुनाले तत्काल मर्मतका कामहरू भइरहेको छ । दाउन्नेको २/३ वटा खण्डको २/३ ठाउँमा वानवे चलाउनु पर्ने सम्भावना रहेको जस्तो देखिएको छ । चालकहरूले ट्रक बिग्रिएर छोडेर हिँड्ने प्रवृत्तिले बाटो अवरोध हुने देखिएको र नेपाल प्रहरीको सहयोगमा यसको समाधान गर्नुपर्ने उनले बताए ।
नागढुंगा सडक खण्डमा पुराना पुल रहेको र आभरलोड बोकेका टङक गुड्ने हुँदा क्षति पुगेको थियो । ती पुल मर्मतका काम भइरहेको छ । यसैगरी जोखिमपूर्ण क्षेत्रमा पहिरो गइहाल्यो भने तुरुन्तै मर्मतका लागि १५४ वटा हेभ्भी इक्युपमेन्ट फिल्डमा तयारी अवस्थामा राखिएको बताए ।
कान्ति लोकपथमा बागमति पुलको बेलिवृज यसै साता जडान गरिसक्ने पनि बताए छ ।
क्षतिग्रस्त सडकमा आधाघण्टामा मर्मत गर्न उपकरण पुर्याउने तयारी
भौतिक पूर्वाधार सचिव केशव शर्माले हरेक वर्ष मन्त्रालयले विपद् जोखिमको पूर्व तयारी गरिरहेको दाबी गरे । साथै उनले जोखियुक्त क्षेत्रमा मर्मतका लागि उपकरण राखिएको र क्षति पुगेको जानकारी पाएको आधाघण्टामा क्षतिग्रस्त सडकमा उपकरण पुग्ने गरी राखेको जानकारी दिए ।
‘वर्षा आउनुअघि पहिचान गरेर सडक विभागअन्तर्गत विभिन्न शाखामा २७७ वटा हेभी इक्युमेन्ट तयारी अवस्थामा राखेका छौँ । त्यसमध्ये देशभरका विभिन्न सडक पहिरोको जोखिम भएको साइड नजिकै १५४ वटा र १२३ वटा निकायमा तयारी अवस्थामा राखेका छौँ,’ उनले भने,‘अघिल्ला वर्षमा पनि यसरी नै तयारी गरिन्थ्यो ।’
उनकाअनुसार गत वैशाख अन्तिमसाता आएको बाढीले कोशी प्रदेशको लेउतेमा ८० मिटर सडक बगाएको थियो । यसलाई पुनर्निर्माण गर्ने काम भइरहेको बताए ।
नौविसेदेखि मुग्लिनसम्म पृथ्वी राजमार्गमा पर्ने झ्याप्ले खोला र कृष्णभीर महेश खोला, महेन्द्र राजमार्ग दाउन्नेमा १४ किमिमा काम भइरहेको छ । अब ३/४ किमिमा काम हुन बाँकी रहेको बताए । ‘ओभर लोड कानुनविपरीत हो, तर यो नियन्त्रण हुन सकेको छैन,’ उनले भने,‘ट्रक रोकेर राख्ने प्रवृत्तिले पनि सडकको क्षतिभन्दा पनि गैरजिम्मेवारले पनि अवरोध हुने गरेको छ ।’
चालु वर्षमा काठमाडौँ–नौविसे,नोविसे–मुग्लिन, मुग्लिन–नारायणघाट, बीपी राजगर्मा अरनिको राजमार्ग, मेची राजमार्गलगायत सडकमा पुगेको क्षतिलाई मर्मतगरिने बताए । साथै यी सडकमा पुल, बेलिब्रिज निर्माण कार्य भइरहेको बताए ।
‘गिरबारी खोला पुल र विनय पुल मर्मत गर्न सक्ने तयारी छ । यही २४/२५ गतेभित्र बागमतीको बेलिब्रिज निर्माण सम्पन्न गर्छाैँ,’ अरनिको राजमार्गमा पर्ने लार्चा बेलिब्रिज मेची राजमार्गको हेवा खोला, माई खोलाको पुललगायत बेलिब्रिज राख्ने तयारी छ ।’
विपद्को वेलामा संयन्त्र बनाएर काम गर्ने प्रतिबद्धता
यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मनसुन भित्रिसकेकाले त्यसको विपद्बाट जोगिन क्षति हुने ठाउँहरूको पूर्वअध्ययनको काम गर्न सरकार सकारात्मक रहेको बताए । साथै विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयमध्ये मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।
‘बाढी, पहिरोले दुःख दिने ठाउँहरूको पूर्वअध्ययन गर्नुपर्छ भन्ने कुरामा म सहमत छु,’ मन्त्री दाहालले भने, ‘विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहन्छ ।’
स्थानीय सरकारसँगको समन्वयमा विकास निर्माणका काम पनि गरिरहेको र विपद्को वेलामा संयन्त्र बनाएर काम गर्नेे प्रतिबद्धता जनाए । नेपाल निर्माणको चरणमा रहेकाले पनि केही समस्याहरू आइरहेको मन्त्री दाहालले बताए ।