काठमाडौं।
बुधबारको सेयर बजार कारोबार ओरालो लागेको छ। नेप्से परिसूचक ११.९७ अंकले घट्दै २६४६ बिन्दुमा झरेको छ। सूचकसँगै कारोबार रकम पनि घटेको छ।

अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आज कारोबार ५ अर्ब १६ करोडमै सीमित रह्यो। कुल २४८ कम्पनीमध्ये ६६ को मूल्य बढ्दा १८१ को घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो।
सेक्टर सूचकहरूमा अधिकांशमा गिरावट आएको छ। सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखिएको छ, जसको सूचक ०.९० प्रतिशतले घटेको हो। त्यसपछि माइक्रोफाइनान्स ०.८२, विकास बैंक ०.७१, बैंकिङ ०.५९, निर्जीवन बीमा ०.६८, जीवन बीमा ०.४८, होटल तथा पर्यटन ०.४७ प्रतिशतले घटेका छन्।
व्यापार समूह भने ०.४९ प्रतिशतले उकालो लागेको छ। यसको मुख्य कारण विशाल बजार कम्पनीको सेयर मूल्यमा आएको वृद्धि हो। यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन्।
आज सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएका कम्पनीमा ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी छन्। यस्तै, सुपर माइ हाइड्रोपावर ७.३४ प्रतिशत, अरुण काबेली पावर ३.३९, र माइखोला हाइड्रोपावर २.८ प्रतिशतले बढेका छन्।
अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ। त्यस्तै मिडसोलु हाइड्रोपावर ३.७०, उपकार लघुवित्त ३.४० र सामुदायिक लघुवित्त ३.३० प्रतिशतले घटेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर परेका छन्।
बजारमा गिरावट आए पनि केही कम्पनीहरूले उल्लेख्य वृद्धि देखाएका छन्, जसले लगानीकर्ताहरूलाई मिश्रित संकेत दिएको छ।



