© २०२३
सल्यान, २१ जेठ ।
वैशाख पहिलो सातादेखि सडक निर्माणको काम रोकिएपछि सल्यानको थारमारे–मौलाहाले–बडागाउँ हुँदै रुकुमको चौरजहारी जोड्ने सडक स्तरोन्नति समयमै सम्पन्न हुनेमा आशङ्का पैदा भएको छ । निर्माण सामग्री अभावका कारण यो सडकको काम एक महिनादेखि ठप्प छ । निर्माण सामग्रीको अभावसँगै योजनाको कार्यान्वयनमा समन्वयको कमी तथा कानुनी प्रक्रियाका कारण दीर्घकालीन महत्वको यस सडक खण्ड स्तरोन्नति हुन नसकेको हो ।
१३ करोड रुपैयाँको लागतमा निर्माणाधीन यो सडक धुलिखेल अप्लाइट जेभी सिन्धुपाल्चोकले बनाउने जिम्मा लिएको हो । असार मसान्तसम्म कालोपत्रेसहित सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय सल्यानसँग सम्झौता गरिएको थियो । तर बागचौर नगरपालिका–३, चौरपानीमा निर्माण सामग्री उत्पादन गर्न राखिएको क्रसर उद्योग बन्द भएपछि काम अघि बढ्न सकेको छैन । निर्माण कम्पनीका साइट इन्चार्ज मुकुन्दराज तिवारीका अनुसार सब बेसको काम धेरैजसो सम्पन्न भइसकेको छ र अहिले बेस बिछ्याउने चरणमा काम रोकिएको छ । “क्रसर बन्द भएपछि काम अघि बढ्न सकेन, मजदुरहरू घर फर्काइएको छ र उपकरणहरू साइटमै थन्किएका छन्,” तिवारीले भने । सव–डिभिजन वन कार्यालय थारमारे र बागचौर नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कनबिना उत्खनन गरिएको भन्दै क्रसर उद्योग सञ्चालन रोक लगाएका हुन् ।
पूर्वाधार विकास कार्यालय सल्यानका इन्जिनियर तथा सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार काम रोकिँदा असार मसान्तसम्म कालोपत्रे सहितको काम सम्पन्न गर्न कठिन हुने देखिएको छ । “आर्थिक वर्षको अन्त्य नजिकिँदै छ, वर्षा पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा समयमै काम सकिन गाह्रो छ,” उनले भने । बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनीले थारमारे–चौरपानीबीचको भागको काम नगरेको भन्दै कार्यपालिकाको बैठकले त्यस क्षेत्रको काम पनि कम्पनीले गर्नुपर्ने निर्णय गरेको बताए । “उक्त क्षेत्रको काम नगरी क्रसर सञ्चालनको अनुमति दिइने छैन,” उनले भने । साथै क्रसर सञ्चालनका लागि आवश्यक कागजात प्रस्तुत गरेपछि मात्रै स्वीकृति दिन सकिने उनको भनाइ छ ।