काठमाडौँ ।
काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस बुधबारदेखि सुरु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बहस अगाडि बढाइएको हो।

उक्त घटनामा संलग्न भन्दै प्रहरीले ६५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्ये ४ जना बालकको मुद्दा बाल अदालत, भक्तपुरमा चलाइँदैछ भने ११ मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको आरोपमा धरौटीमा रिहा भइसकेका छन्।
राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा ५० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमध्ये दुर्गा प्रसाईँसहित ८ जनामाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको थप गम्भीर आरोपसमेत लगाइएको छ। अभियोगपत्रसहित अदालतमा पेश गरिएका ३९ जनाको थुनछेक एकैपटक सुरु गरिएको हो।
जेठ ११ गते अदालतमा अभियोगपत्र दर्ता भएपछि सुरू भएको बकपत्र प्रक्रिया सम्पन्न भइसकेको छ। त्यसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बहस सुरु भएको हो। सरकारी वकिलले दुई दिन समय लिएको हुँदा, बहसपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने वा थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने निर्णय अर्को साता हुने अपेक्षा गरिएको छ।
यसै प्रकरणका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई भने अनुसन्धानकै क्रममा छोडिएको थियो। उनीहरू हाल फरार सूचीमा रहेका छन्, तर थुनछेक बहसपछि अदालतमा आफैं उपस्थित हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि उनीहरूको पनि थुनछेक प्रक्रिया अघि बढ्नेछ।



