© 2026
काठमाडौँ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ जिल्लाको राम्री–कपुरकोट सडक खण्ड आगामी नौ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतीको कामका लागि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै पर्सि जेठ २३ गतेदेखि असार १ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सडक सुधारको कामलाई सहज बनाउन समयसीमित बन्द लागू गरिएको हो। उनले यात्रु तथा सवारी चालकहरूलाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
साना सवारी साधनका लागि पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट मार्गलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने जनाइएको छ। यात्रुहरूलाई समयमै जानकारी लिई योजना बनाइ यात्रा गर्न प्रशासनले सुझाव दिएको छ।