© २०२३
काठमाडौं ।
भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासस्वरूप दिउँसो ३:१५ बजेसम्म सारिएको थियो, तर दलहरूबीच सहमति नजुटेपछि संसद सचिवालयले बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो।
भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जान चाहनेहरूसँग अवैध रकम असुली भएको भन्दै अख्तियारले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत कर्मचारीहरूमाथि अनुसन्धान थालेको छ। यही प्रकरणमा गृहमन्त्री रमेश लेखकको नैतिक जिम्मेवारी भन्दै प्रतिपक्षी दलहरूले राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेका छन्।
सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमाले गृहमन्त्रीले संसदमै जवाफ दिने अवसर दिनुपर्ने अडानमा छन् भने माओवादी केन्द्र, रास्वपा लगायत दलहरूले गतिरोध अन्त्य गर्न लेखकको राजीनामा अपरिहार्य भएको अडान लिएका छन्।
यसअघि मंगलबार पनि बैठक बिना छलफल स्थगित भएको थियो। अब दलहरूबीचको सहमति नभएसम्म संसदको नियमित कार्यसूची अघि नबढ्ने संकेत देखिएको छ।