© २०२३
अर्घाखाँची, २० जेठ ।
लागू औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा सञ्चालन भएको युवा सचेतना अभियान सुरुवात गरिएको छ । कानुनले वर्जित गरे पनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विकृतिजन्य कु–रीति र दुर्व्यसनी नियन्त्रण गर्न नगरपालिकाको १० वटै वडामा यस्तो अभियान सञ्चालन गरिएको हो । भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय युवा सञ्जालले १० वटै वडाको प्रतिनिधित्व हुनेगरि ५ स्थानमा ५ सय बढी युवालाई सहभागी गराएर युवा सचेतना कार्यक्रम सञ्चालन गरिएको भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले बताए ।
भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसालका अनुसार गत शुक्रबार भूमिका स्थान ९ र १० का युवाहरूको सहभागितामा धनचौरमा सचेतना कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त कार्यक्रम आइतबार भूमिका स्थान ३ र ४ का युवाहरूको सहभागितामा धारापानीमा कार्यक्रम गरी समापन गरिएको छ । अभियानमा हिमाली अनुसन्धान केन्द्र काठमाडौँका प्रतिनिधि पुरन पोख्रेलले लागु औषध के हो ? दुर्व्यसनी के हो ? मानिसहरू लागू औषधको सिकार किन हुन्छन् ? कसरी छुटाउन सकिन्छ ? जस्ता विषयमा युवाहरूलाई अभिमुखीकरण प्रदान गरेका थिए । सामाजिक कुरीति, कु–प्रथा र अन्धविश्वास के हो ? यसले मानिस र समाजलाई कसरी झेलेको छ ? मुक्त कसरी हुने भन्ने विषयमा ट्रष्ट नेपाल खोटाङको अध्यक्ष गोमा राईले प्रशिक्षण प्रदान गरेकी थिईन्न ।
जेठ १६ गते शुक्रबार, जेठ १७ गते शनिबार र जेठ १८ गते आइतबार धनचौर, नुवाकोट, असुरकोट, ढाकावाङ्ग र धारापानी गरी ५ स्थानमा ५ सय बढी युवा तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानमा भूमिका स्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र पत्रकार गोपाल प्रसाद भट्टराईले सहजीकरण गरेका हुन । २१औं शताब्दीमा पनि समाजमा जरा गाडेर बसेको बोक्सी, धामी, महिनावारी बार्ने, बालविवाह, जातीय छुवाछुत र कुलत जस्ता समाजका हानिकारक विकृतिलाई रोक्न युवा सचेतना अभियानले प्रभाव पार्ने नगरप्रमुख झविलाल थापाको भनाई छ।
भौतिक निर्माणले मात्रै समाज समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासको निम्ति सामाजिक कु–रीति र दुर्व्यसन कारक बनेको बताउनुभएको छ। नागरिक सचेत नभएसम्म भौतिक सुविधाले सन्तुष्टि नमिल्ने निष्कर्ष सहित आफूहरूले यस्ता कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । सचेत युवाको एकताले समाजमा व्याप्त कूपर्था र दुर्व्यसनी न्यूनीकरण गदै समृद्ध समाज बनाउन सकिने विस्वांस व्यक्त गर्दै नगरप्रमुख थापाले कर्म र उत्पादनमा जोडिन सबै नागरिकलाई अपिल गरेका छन् ।
आम नागरिकको सकारात्मक सोच र युवाहरूको सक्रियताले समाजका हानिकारक प्रथा र गलत संस्कार हटाउन सकिने भन्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले नगरपालिकाको अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए । कार्यक्रममा नगरपालिका सँगै भूमिका स्थान १ का वडाध्यक्ष गोपाल खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र १० का वडाध्यक्ष खगिश्वर पन्थी,कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, वडा सचिव, विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि, प्रहरी सहित सामाजिक अगुवाको अग्रणी सहयोग रहेको थियो ।युवा सचेतना अभियानमा सहभागी युवा तथा सरोकारवालाले समाजका नकारात्मक पक्षजस्तै: बोक्सी, दाइजो, बाल विवाह र दुर्व्यसनी जस्ता कुरीतिलाई अन्त्य गर्न भूमिका खेल्ने प्रण गरेका छन् ।