© २०२३
सल्यान, २० जेठ ।
न त सरकारी बजेट, न त कुनै संस्था वा सङ्घसंस्थाको सहयोग । विद्यालयमै अध्यापन गराउने शिक्षक, व्यवस्थापन समितिका सदस्य र समाजका अगुवाहरूको योगदानबाट सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ५ स्थित तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयले विपन्न बालबालिकाहरूका लागि छात्रावास सञ्चालन गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विपन्न बालबालिकाको सुविधाका लागि छात्रावास सञ्चालन गरिएको बताए । यस शैक्षिक सत्रमा सहारा विहीन, आर्थिक रूपमा विपन्न ३० बालबालिकालाई छात्रावासमा राख्ने योजना रहेको भन्दै उनले हालसम्म २५ बालबालिका छात्रावासमा बस्दै आइरहेको जानकारी दिए ।
२०४६ सालमा स्थापना भएको यस विद्यालयमा ७१ जना विद्यार्थीले पढ्छन् । बाल विकासदेखि कक्षा ५ सम्म सञ्चालन भएको जनकल्याण आधारभूत विद्यालयको छात्रावासमा आमाबुवा नभएका, आमाले अर्कैसँग विवाह गरी गएका, अन्य परिवारका सदस्यसँग आश्रित बालबालिका र आर्थिक रूपमा निकै कमजोर परिवारका बालबालिकालाई राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले कुनै निकायबाट आर्थिक सहयोग नपाउँदा पनि समुदाय पछि नहटेर छात्रावास सञ्चालन गरेको बताउँछन् । “शिक्षक र समितिका सदस्यहरूले व्यक्तिगत रूपमा रकम सङ्कलन गरी छात्रावास सञ्चालन गरिरहेका छौँ,” उनले भने । उनका अनुसार भान्सादेखि बालबालिकाको हेरचाहसम्मको जिम्मेवारी पनि समुदायकै सदस्यहरूले बोकिरहेका छन् ।
व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनासम्म खाना पकाउने तथा सरसफाइको जिम्मा लिएकी छन् भने शिक्षक धना रेउलेको छात्रावासमै बसेर साँझ बिहान अतिरिक्त पठनपाठन गर्ने प्रतिबद्धता छ । यता शारदा नगरपालिकाले छात्रावासको दिगो सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीले विद्यालयले गरेको कार्य अत्यन्त प्रशंसनीय रहेको भन्दै भवनलगायत अन्य आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।