काठमाडौं ।
संसदमा आजको महत्वपूर्ण बैठकअघि सभामुख देवराज घिमिरे सक्रिय रूपमा दलहरूसँग छलफलमा जुटे। बैठकलाई सहज रूपमा अघि बढाउन उनले सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलहरूका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै भेटघाट गरे।

सभामुखले सर्वप्रथम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका थिए। त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासँग पनि छुट्टाछुट्टै संवाद गरे।
आजको संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची तय गरिएको छ। तर, भिजिट भिसा प्रकरणका कारण विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका छन्। यस्तो सन्दर्भमा, बैठकलाई विघ्नरहित बनाउन सभामुखले पूर्वतयारी स्वरूप दलहरूसँगको समन्वयलाई प्राथमिकता दिएका हुन्। सभामुखको सचिवालयका अनुसार छलफलहरूको मूल उद्देश्य संसदको मर्यादा कायम राख्दै बैठक सञ्चालन सुनिश्चित गर्नु हो।



