Butwal Today

रवि लामिछानेले काठमाडौँ डिल्लीबजार कारागारबाट सरुवा मागे

२० जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका बेला काठमाडौँको डिल्लीबजार कारागारमा सरुवा माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएपछि अदालतले कारागार प्रशासनलाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो।

रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ भने विभागको निर्णय आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए। निर्णय आएलगत्तै लामिछानेलाई सरुवा गरिनेछ।

लामिछानेलाई सुरुमा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उक्त आदेश बदर गरी चैत २२ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। त्यसै दिन उनलाई पक्राउ गरिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका लामिछानेलाई सर्वोच्चले पनि उच्च अदालतको आदेश सदर गरेपछि उनी काठमाडौँ सरुवा हुन चाहेका हुन्। परिवार र पार्टीभित्रको भेटघाट सहज बनाउन डिल्लीबजार कारागारमा बस्न चाहेको लामिछानेले जनाएका छन्। काठमाडौँ र ललितपुरमा तीन वटा कारागार छन् भने डिल्लीबजारमा वीआईपी कैदीहरू बढी हुने गर्छन्।

सुप्रिम सहकारी ठगीको मुद्दामा फैसला नभएसम्म लामिछानेलाई थुनामा बस्नुपर्ने भएकाले कारागार बसाई लम्बिएपछि उनले सरुवा माग गरेका हुन्। रुपन्देही बाहेकका अन्य अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?